भीमफेदीमा क्षमताभन्दा बढी सिट राखिएका ११ ईभी फेला

बुधबार, मंसिर २, २०८३

हेटौंडा । सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मकवानपुर प्रहरीले क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका विद्युतीय (ईभी) गाडीमाथि कारबाही अघि बढाएको छ । हिजो मंगलबार इलाका प्रहरी कार्यालय भीमफेदी र ट्राफिक प्रहरीसहित खटिएको टोलीले भीमफेदी गाउँपालिका–६ स्थित चेकप्वाइन्टमा सवारीसाधन चेकजाँच गर्ने क्रममा क्षमताभन्दा बढी सिट जडान गरिएका ११ वटा ईभी गाडी फेला पारेको हो ।  प्रहरीका अनुसार ती गाडीको सवारी दर्ता किताबमा १४ सिट क्षमता उल्लेख भए पनि थप चारवटा सिट जडान गरी सञ्चालन गरिएको पाइएको थियो । यसरी तोकिएको क्षमताभन्दा बढी सिट राखेर सवारी सञ्चालन गर्नु सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ को उपदफा (१) विपरीत रहेको प्रहरीले जनाएको छ । उक्त कसुरमा ऐनको दफा १९४ को उपदफा (२) (ख) बमोजिम हाल चारवटा गाडीलाई प्रतिगाडी १० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले बाँकी थप गाडीहरूलाई समेत कारबाही गर्ने तयारी भइरहेको बताएका छन् । क्षमताभन्दा बढी सिट राखेर यात्रु ओसारपसार गर्दा सवारी दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर असर पर्ने भएकाले प्रहरीले चेकजाँचलाई कडाइ गरेको जनाएको छ । मकवानपुर प्रहरीले सवारीसाधनको दर्ता प्रमाणपत्रमा उल्लेखित क्षमताअनुसार मात्रै यात्रु बोक्न र गैरकानुनी रूपमा सिट थप नगर्न सवारी सञ्चालकहरूलाई सचेत गराएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार