Chhath Banner
Chhath Banner

जनकपुर–अयोध्याबीच ६०४ किलोमिटर लामो साप्ताहिक रेल सेवा सञ्चालन हुने

आइतबार, कात्तिक २९, २०८३

काठमाडौं । भारतको भारतीय रेलवेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने स्वीकृति दिएको छ । भारतको रेल मन्त्रालयले नयाँ रेल सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै जनकपुरधाम र भगवान् रामको जन्मभूमि मानिने अयोध्याबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुने भएको हो । भारतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) दिल्लीले शनिबार सार्वजनिक गरेको सूचनाअनुसार करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म सञ्चालन हुनेछ । रेलले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर तथा स्थानलाई जोड्नेछ । पीआईबीका अनुसार यो रेल सातामा एकपटक सञ्चालन हुनेछ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट सोमबार रेल छुट्नेछ । रेलले अन्तिम गन्तव्यबाहेक जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक रूपमा यात्रु चढाउने तथा ओराल्ने सुविधा दिनेछ । नयाँ रेल सेवाले नेपाल र भारतबीचको धार्मिक पर्यटन तथा सीमापार आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ । रामायण परम्परासँग जोडिएका माता सीताको जन्मभूमि मानिने जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई रेलमार्गबाट जोड्दा तीर्थयात्री तथा पर्यटकलाई प्रत्यक्ष लाभ पुग्नेछ । यसले रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवद्र्धन गर्नुका साथै शिक्षा, व्यापार र पारिवारिक भेटघाटका लागि सीमापार यात्रा गर्ने यात्रुलाई समेत सहजता प्रदान गर्नेछ। रेलमार्गले जोड्ने क्षेत्रका होटल, पर्यटन व्यवसाय, स्थानीय व्यापार तथा आतिथ्य क्षेत्रमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहँदै आएको छ । धार्मिक परम्परा र सीमावर्ती समुदायबीचको आवागमन दुई देशको सम्बन्धका महत्त्वपूर्ण आधार हुन् । नयाँ रेल सेवाले यी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै दुई देशबीचको यातायात सम्पर्क र द्विपक्षीय सहकार्य विस्तारमा योगदान पु¥याउने भारतीय रेल मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  १६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार