सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा पनि प्रशस्तीगानमा रमाउने भुत चढेको भन्दै केन्द्रीय सदस्यहरुले आक्रोश पोखेका छन् । देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले मन्त्रिपरिषद् गठन गर्न नसकेको, पार्टी महाधिवेशन टार्न खोजेको, आफ्नो प्रशस्तीमा भिडियो बनाइएकोलगायत विषयमा प्रश्न गर्दै जवाफ मागेका छन् । कांग्रेस केन्द्रीय सदस्य धनराज गुरूङले सभापति देउवालाई ‘शेरबहादुर देउवा मलाई मनपर्छ किनभने....’ भन्ने सार्वजनिक भिडिओबारे प्रश्न गरेका थिए । गुरूङले बैठकमा भनेका थिए, ‘आइ लभ यू बा भन्नेहरूले केपी ओलीलाई सिंहदरबारबाट बालकोटको बार्दलीमा पुर्याए, सभापतिज्यू तपाईं प्रधानमन्त्री बनेपछि कांग्रेसमा पनि मलाई शेरबहादुर मनपर्छ भन्ने प्रवृत्ति शुरू भएछ । यस्तो प्रवृत्तिबाट सजग हुनुहोस् ।’ गुरुङको प्रश्नबाट आक्रोशित बनेका प्रधानमन्त्री देउवाले त्यस्ता भिडिओ बनाउन बन्द गर्न आफूले निर्देशन दिइसकेको स्पष्टीकरण दिएका थिए । देउवाको प्रशस्तीमा बनाइएका त्यस्ता भिडियोप्रति महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाउँदै सभापतिको ध्यानाकर्षण गराइसकेका छन् । बैठकमा बोल्ने अर्का नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न नसकेकामा प्रश्न गरेका थिए । उनले भने, ‘तपाईं प्रधानमन्त्री भएको एक महिना भयो । १५ मन्त्रालय नेतृत्वविहीन छन् । यस्तो अवस्थाले कसरी जनहितमा काम गर्न सक्छ र सुशासन दिन सक्छ ?’ कोइरालाले छिमेकी देशसँगका सम्बन्ध सन्तुलनमा राख्न सुझाव पनि दिएका छन् । उनले केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा राख्न नसकेको पनि सभापतिको आलोचना गरेका थिए । उनले १४ औं महाधिवेशन गर्न इच्छाशक्ति नदेखाएकामा नेतृत्वको आलोचना गरेका छन् । विवादित वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशन गर्न सुझाव दिँदै कोइरालाले विशेष महाधिवेशन नभई नियमित महाधिवेशन नै गर्नुपर्ने अडान दोहो¥याएका थिए ।