सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आज दोस्रो दिन पनि जारी छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान साढे ११ बजेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले केन्द्रीय सदस्यहरुको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ । कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् । बिहीबार सुरु भएको बैठकमा पहिलो दिन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गर्नुभएको थियो । अन्य नौ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।
तोडमोड गरी समाचार आएको भन्दै ध्यानाकर्षण यसैबीच नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफूले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सिमित निकटस्थ सहयोगी र नेताका बीचमा राखेका कुरालाई जोडेर तोडमोड गरी समाचार सार्वजनिक भएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् । उनले आज एक विज्ञप्ति जारी गरी ‘शेरबहादुर देउवा किन मलाई मन पर्छ’ भन्ने भिडियोको पक्षमा आफूले भन्दै नभनेको कुरा सञ्चारमाध्यममा सम्प्रेषण गरिएकामा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले आफ्नो जीवनको विभिन्न कालखण्डमा सत्तामा हुँदा र नहुँदा गरेका राम्रा कामलाई उल्लेखित भिडिओमा प्रस्तुत गरेकोभन्दा तथ्य र आधारसहित परिपक्व तथा भिन्न तरिकाबाट सम्प्रेषण गर्न सकिन्थ्यो भन्ने आफूलाई पनि लागेको सहमहामन्त्री डा.महतको भनाइ छ । प्रधानमन्त्री वा उनका सहयोगीले गरेको कुनै कार्यले प्रधानमन्त्रीको छविलाई हानि गरेको छ भन्ने लागेमा उनको निरन्तर पहुँचमा रहेका नेता र निकटस्थलले सिधै प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने तथा त्यसका लागि सामाजिक सञ्जालको सहयोग लिनुुपर्ने अवस्था के परिस्थितिले आइपरेको हो भनेर उक्त छलफलमा जिज्ञासा मात्र राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘नेतृत्व तहबाट कुनै कमीकमजोरी भएमा सिधै राख्ने मेरो स्वभाव छ त्यसले काम नगरे मात्र संस्थागत र सार्वजनिकरुपमा राख्नुपर्छ भन्ने मान्यता म राख्दछु’, उनले विज्ञप्तिमा जनाएका छन् ।