सोसल मिडिया
Contact Us
युनिकोड
अस्ट्रेलिया । परदेशको भूमिमा नेपाली लोकसंस्कृतिको मिठास, देउसी–भैलोको गुञ्जन र सामुदायिक एकताको उत्साह एकसाथ देखिएको छ । नेपालीहरूको महान् चाड तिहारको अवसरमा अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली समुदायले परम्परागत देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै सामाजिक सद्भाव र सहयोगको सन्देश फैलाएको छ । क्यानबेरास्थित नेपाली राजदूतावासमा चार दशक पुरानो नेपाली संस्था अष्ट्रेलिया नेपाल फ्रेण्डशिप सोसाइटी (ए एन् एफ् एस) को आयोजनामा देउसी–भैलो कार्यक्रम सम्पन्न भएको हो। नेपाली मौलिक कला, संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाली समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा परम्परागत देउसी–भैलो गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिमार्फत नेपाली चाडपर्वको मौलिकता र सांस्कृतिक पहिचान झल्काइएको थियो । दूतावासमा आयोजित कार्यक्रमसँगै ए एन् एफ् एस् को टोलीले क्यानबेराका विभिन्न स्थानमा पुगेर पनि देउसी–भैलो खेलेको थियो । यस क्रममा समुदायका सदस्य तथा शुभेच्छुकहरूबाट १० हजार २९७ अस्ट्रेलियन डलर संकलन भएको संस्थाले जनाएको छ । कार्यक्रममा कार्यबाहक राजदूत तारा गौतमले देउसेहरूलाई स्वागत गर्दै उपहार प्रदान गरेकी थिइन् । देउसीमा सहभागी कलाकार यज्ञ अधिकारीले परम्परागत रूपमा देउसी भट्याउने क्रममा सामाजिक गुनासा, समसामयिक विषय र सुधारका सुझावहरूलाई समेत सिर्जनात्मक शैलीमा गीत तथा लयमार्फत प्रस्तुत गरेका थिए । यसैगरी, क्यानबेरासँगै रहेको क्विनबियनमा पनि क्विनवियन नेपाली समुदायले सामूहिक रूपमा देउसी–भैलो खेलेको थियो । त्यहाँ संकलित रकम नेपाली भाषा विद्यालयको सञ्चालन तथा प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले जुटाइएको हो । विदेशमा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्परासँग जोडिराख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समुदायले लिएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिँदै आएका नेपाली समुदायका यस्ता गतिविधिले सांस्कृतिक पहिचान जोगाउनुका साथै आपसी सद्भाव, एकता र सामाजिक उत्तरदायित्वलाई समेत बलियो बनाउँदै लगेका छन् ।