सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । “मलाई के आशा छ भने म चाँडै निको हुनेछु र फेरि स्कुल जान पाउने छु,” यमनको राजधानी सानाका एक जना अति कुपोषित बालक मुराद मोहम्मद भन्छन् । मुराद अहिले केबल १२ वर्षका मात्र छन् तर उनको शरीरको तौल १३ केजी मात्र छ । उनी यति कमजोर छन् कि कसैको सहारा बेगर एक्लै उभिन पनि सक्दैनन् । उनी बोल्न पनि राम्ररी सक्दैनन् । ‘मेरो छोरोको शरीरमा हाड, छाला बाहेक केही छैन । मुराद एक सेकेन्ड पनि उभिन सक्दैन । उसको हालत देखेर जोसुकैका आँखा रसाउँछन्’ मुरादका बाबु मोहम्मद अकाप भन्छन् । सानामा ट्याक्सी ड्राइभर रहेका ६१ वर्षीय अकाप छोराको दयनीय अवस्थाबाट चिन्तित छन् । केही वर्षदेखि अकापले छोरा मुरादको उपचारका लागि धेरै वटा अस्पताल र क्लिनिक पु¥याइसके तर मुरादको अवस्थामा सुधार आएको छैन । उनी दिनप्रतिदिन अझ ख्याउटे हुँदै गल्दै गएका देखिन्छन् । ‘मेरो छोरा सानो हुँदा ठिकै थियो, तर छ वर्षयता दिनदिनै उसको अवस्था बिग्रन थाल्यो । त्यही भएर उपचारका लागि धेरै अस्पताल र क्लिनिकमा पुगिसकें । तर कसैले पनि उसको रोग पत्ता लगाउन सकेका छैनन् । ऊ निकै बिरामी छ । केही खाना खुवाउने बित्तिकै वान्ता गरिहाल्छ ।’आइतबार, अकापलले मुरादलाई सानास्थित अल–साबीन अस्पतालमा ल्याइपु–याएका थिए । यो अस्पताल कुपोषित बालबालिकाको उपचारका लागि निकै नाम चलेको अस्पताल हो । आखिरमा उनले सही अस्पतालमा छोरालाई ल्याएका थिए । अकाप र उनको परिवार युद्धग्रस्त उत्तरी हज्जाह प्रान्तबाट केही वर्ष पहिले पलायन भएको थियो । उनीहरु कामको खोजीमा राजधानी साना आइपुगेका हुन् । सात जनाको परिवार पाल्ने अहिले अकापको एउटा ट्याक्सी छ । ‘हामी हज्जाहको एउटा दुर्गम इलाका अफलाह अल–शामबाट यहाँ आएका हौँ । युद्धका दिनमा जताततै बम बर्सिन थालेपछि ज्यान जोगाउन हामी यहाँ आएका हौं’ अकाप भन्छन् । उनको विचारमा जारी युद्ध नै छोराको यो हालत बनाउन र आफूको दुःखका लागि मुख्यरुपमा जिम्मेवार छ । संयुक्त राष्ट्रसङ्घको अनुमानमा अरब राष्ट्र यमनमा पछिल्लो पटक जारी गृहयुद्धका कारण दुई लाख ३३ हजारको मृत्यु भइसकेको छ । अरबकै सबैभन्दा निर्धन राष्ट्र यमनमा ४० लाख मानिस बिस्थापित भएका छन् । भोक, रोग, सुख्खा र युद्धका कारण चरम मानवीय संकट झेलिरहेको यमनको कूल जनसंख्या करिब दुई करोड ८० लाखमध्ये झण्डै ८० प्रतिशतलाई मानवीय सहायता जरुरी भएको राष्ट्रसंघको भनाइ छ । अल–सबिन अस्पतालको बेडमा भेटिएका मुरादमा बाँच्ने आशा अझै जीवित रहेको छ । उनी भन्छन्, ‘म चाँडै निको भएर स्कुल जान चाहन्छु ।’ अस्पतालका चिकित्सक मुरादजस्ता अति गम्भीर कुपोषित बालबालिकालाई बचाउन निकै कठिन रहेको बताउँछन् । औषधि र मेडिकल सामानको अभावका कारण बालबालिकालाई जोगाउन अझ समस्या भइरहेको उनीहरुको भनाइ छ । गरीबीमा पिल्सिएको यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । यहाँका हुथी विद्रोहीले देशको अधिकांश भू–भाग आफ्नो नियन्त्रणमा राखेका छन् भने राजधानी सानासमेत सबैजसो उत्तरी इलाका कब्जामा लिएका छन् । संयुक्त राष्ट्रसङ्घले यमनको मानवीय सङ्कटलाई यस पृथ्वीकै सबैभन्दा खराब भनी व्याख्या गर्ने गरेको छ । यहाँ भोकमरी, अति कुपोषण, महामारी र आर्थिक नाकाबन्दी छ भने यमनका हजारौँ बालबालिका द्वन्द्वको चरम शिकार भएका छन् । राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले सन् २०२० को जुनमा सार्वजनिक गरेको प्रतिबेदनमा सन् २०२० को अन्त्यसम्ममा २४ लाखको हाराहारीका बालबालिका कुपोषणबाट ग्रस्त हुने उल्लेख छ । यो संख्या पाँच वर्षमुनिका कूल बालबालिकाको झण्डै आधा हो । गृहयुद्ध र कोरोनाभाइरसको पीडाबाट गुज्रिरहेको यमनमा यी दुबै सङ्कट चाँडै समाधान हुने सम्भावना अझै देखिएको छैन । मानवीय सहायतका कार्यमा सेवारत सेभ दी चिल्ड्रेनले पनि सन् २०२१ मा २० हजारभन्दा बढी बालबालिका भोकमरीको चपेटामा पर्ने विवरण सार्वजनिक गरेको छ । सन् २०२१ मा एक करोड ६२ लाख व्यक्तिले भोकमरीको सामना गर्नुपर्ने बताउँदै सेभ दी चिल्ड्रेनले तीमध्ये करिब २१ हजार बालबालिकाले भोकमरीसँग जुध्नु पर्ने जनाएको छ । विश्व भोकमरी सूचक (ग्लोबल हङ्गर इन्डेक्स)मा यमन विश्वमै दोस्रो स्थानमा छ । पहिलो स्थानमा भने अफ्रिकाको द्वन्द्वग्रस्त मुलुक अध्य अफ्रिकी गणतन्त्र रहेको छ । इन्डिपेन्डेन्ट अखबारका लागि लेखेको स्तम्भमा एडम केलविक भन्छन्, ‘यमनको जुनसुकै ठाउँमा पुगे पनि, जुनसुकै परिवारसँग कुरा गरे पनि उनीहरुको चासो मास्कको हुँदैन, वा सामाजिक दूरीको छैन वा हातधुने कुराको पनि छैन । उनीहरुको मुख्य सरोकार हुन्छः मलाई खाद्यान्न चाहिएको छ वा मेरा छोराछोरी खान नपाएर मर्ने अवस्थामा पुगिसके ।’ उनी सहायताकर्मीका रुपमा यमन हरेक वर्ष पुग्छन् । तर यसपटक उनलाई यमनमा रहेको चरम खाद्य संकट र बालबालिकाको दुरुह अवस्थाले निकै नै चिन्तित बनाएको छ । उनी भन्छन्, ‘यस वर्ष विगतको भन्दा बढी सङ्कट देखियो । ठूला मानिस नै सङ्कटमा परेको बेला बालबालिकाको अवस्था त छन् कल्पना बाहिरकै कुरा हो ।’ जातीयरुपमा विभाजित यमनमा जारी गृहयुद्ध रोक्न यथेष्ट प्रयास नभए त्यसले अझ गम्भीर सङ्कट निम्त्याउने निश्चित रहेको अन्तरराष्ट्रिय मानवीय सहायता निकायले निरन्तर आवाज उठाइरहेका छन् । -अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा राससले तयार पारेको सामग्री