सोसल मिडिया
Contact Us
युनिकोड
जाजरकोट । तीन जिल्लालाई लक्ष्य गरी रुकुम पश्चिमको चौरजहारी अस्पलातमा अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन सुरु भएको छ । चौरजहारी नगरपालिका–१ मा रहेको अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएपछि त्यसबाट अक्सिजन उत्पादन सुरु भएको अस्पतालले जनाएको छ । एक करोड १० लाखमा प्लान्ट जडान भएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिए । अस्पताल परिसरमा प्लान्ट जडानका लागि झण्डै साढे रु दुई लाख लगानी अस्पतालले गरेको छ । नगरपालिकाले सो प्लान्ट खरिद गरेर अस्पताललाई उपलब्ध गराएको हो । तीन जिल्लाका स्वास्थ्य संस्था तथा स्थानीय तहहरूले नेपालगञ्ज गएर अक्सिजन भरेर आपूर्ति गर्दै आएका थिए । अब नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको बताइएको छ । यो प्लान्टले दैनिक ३२ देखि ३६ वटासम्म ४० लिटरका सिलिण्डर भर्न सक्ने क्षमता राख्दछ । हाल अक्सिजन प्लान्ट जेनेरेटरमार्फत सञ्चालन भइरहेको छ । विद्युत् नियमित नहुँदा अस्पतालले जेनेरेटरको सहायताले अक्सिजन उत्पादन गरिरहेको हो । विद्युत् हुँदा त्यसैबाट उत्पादन गरे पनि विद्युत् नहुँदा भने जेनेरेटरको सहायताले अक्सिजन उत्पादन भइरहेको छ । अक्सिजन उत्पादनका लागि नियमित विद्युत् आपूर्तिको पहल भइरहेको नगरपालिकाले जनाएको छ । जाजरकोटको ५० शय्याको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरिद प्रक्रिया नहुँदा बजेट फ्रिज भएको छ । बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढाए पनि ठेकेदारले खरिदमा ढिलाइ गर्दा सम्झौता रद्द गरिएको थियो । पटक–पटक प्लान्ट ल्याउन म्याद थप्दा पनि ठेकेदारले प्लान्ट नल्याएपछि सम्झौता रद्द गरिएको व्यवस्थापक टीकाराम जैशीले बताए । त्यस्तै छिमेकी जिल्ला डोल्पामा समेत अक्सिजन प्लान्ट भन्दै नक्कली कन्सन्ट्रेटर ल्याएर बुझाएपछि सो ठेक्का रद्द भएको छ । रुकुम पश्चिम, सल्यानलगायतका जिल्लामा प्लान्टको नाममा कन्सन्ट्रेटर खरिद गरिएको सूचना चुहिएपछि छानबिनसमेत गरिएको थियो ।
अझैसम्म जडान हुन सकेनअक्सिजन प्लान्ट यता बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा एक महिनाअघि ल्याइएको अक्सिजन प्लान्ट अझैसम्म जडान हुनसकेको छैन । यसरी लामो समयसम्म अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले यसबारे चासो देखाएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णयानुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पताललाई समयमै अक्सिजन प्लान्ट जडान हुन नसकेपछि स्पष्टीकरण मागसमेत गरिसकेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न ढिलाइ भएको विषयमा स्पष्टीकरण सोधिएको जानकारी दिए । अबको सात दिनभित्रमा अस्पतालमा उद्योग सङ्घले सहयोग गरेको अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । सरकारले कोरोनाको तेस्रो भेरियन्टको चेतावनी दिइराख्दा अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न ढिलाइ हुनु उचित नभएकाले तत्काल यसप्रति अस्पताल प्रशासनको ध्यान जानुपर्ने प्रशासनको निष्कर्ष छ । सरकारले कोभिड–१९ को तेस्रो लहरको चेतावनी केही समयअघिदेखि नै दिँदै आइरहेको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा सावधानी तथा भविष्यमा आउने खतराका लागि सजग रहन र पूर्वाधार तयार पार्न पत्रसमेत पठाइसकेको छ । यता हेटौँडा अस्पतालले भने यस विषयमा खासै चासो देखाएको देखिन्न । उद्योग सङ्घ मकवानपुरले हेटौँडा अस्पताललाई गत असार १६ गते दिएको अक्सिजन प्लान्ट अझै जडान हुनसकेको छैन । गत जेठमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको रोहवरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं अस्पताल सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग सङ्घ हेटौँडाका अध्यक्ष लेखराज पोखरेलले सम्झौतापत्रमा जेठ १६ गतेसम्म ठेकेदारलाई प्लान्ट निर्माणको जिम्मेवारी दिनेसम्बन्धी हस्ताक्षर भएको थियो । अस्पतालले १५ देखि २० दिनसम्म प्लान्ट जडान भइसक्ने जानकारी गराएको छ । प्लान्ट निर्माणका लागि ट्रस भवनको निर्माण भइरहेको हुँदा केही समय ढिला हुन गएकाले अब छिट्टै सञ्चालनमा ल्याउने अस्पतालले जनाएको छ । उद्योघ सङ्घले प्लान्ट निर्माणका लागि रु एक करोड ३० लाख खर्च गरेको थियो ।–रासस