सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रुपमा कार्यान्वयन हुँदै गएको बताएका छन् । हुलाक सेवा विभागद्वारा १५२औँ विश्व हुलाक दिवसका अवसरमा आयोजित फिलाटेलिक प्रदर्शनी कार्यक्रममा उनले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार हुलाक सेवालाई पुनःसंरचना गरी आम नागरिकको पहुँचमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताए । हुलाक सेवाको ऐतिहासिक महत्त्वलाई कायम राख्दै यसलाई आधुनिक जीवनसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले भने, ‘हुलाक सेवाले विशिष्ट इतिहास बोकेको छ । अब यसको इतिहाससँगै भविष्यलाई पनि सोचेर आधुनिक, जीवनोपयोगी र नागरिक केन्द्रित सेवा बनाउनुपर्छ ।’ उनले आधुनिक प्रविधिको विकाससँगै नागरिकका आवश्यकता र सेवा प्राप्त गर्ने तरिकामा परिवर्तन आएको उल्लेख गर्दै हुलाक सेवालाई समयानुकूल बनाउनु आवश्यक रहेको बताए । देशभर फैलिएको हुलाक सञ्जाललाई उपयोग गर्दै सरकारी सेवा तथा सामग्री नागरिकको घरदैलोसम्म पुर्याउने प्रभावकारी माध्यमका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो । हुलाक सेवालाई पुनर्संरचना गरी नागरिकलाई सहज, छरितो र भरपर्दो सेवा उपलब्ध गराउनेतर्फ सरकारले योजना कार्यान्वयन भैरहेको उल्लेख गर्नुहुँदै उनले यस क्षेत्रको सुधारमा परिणाममुखी र उदाहरणीय काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल एकीकरण तथा राष्ट्र निर्माणमा योगदान पुर्याउने व्यक्तित्वदेखि विश्व प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वसम्मको योगदानलाई स्मरण गर्दै नयाँ हुलाक टिकट प्रचलनमा ल्याइएको छ । हुलाक सेवा विभागले नेपाल एकीकरण तथा राष्ट्र निर्माणमा योगदान पुर्याएका बिसे नगर्ची र वाङ्गे सार्की, प्रथम विश्वयुद्धमा भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापामगर र कर्णबहादुर रानामगर तथा टेलिभिजन आविष्कार भएको एक सय वर्षका अवसरमा आविष्कारक जोन लोगी बेयर्डका तस्बिर अंकित हुलाक टिकट जारी गरेको हो । विभागले ती व्यक्तित्वका तस्बिर अंकित प्रतिटिकट १० रुपैयाँ दरका टिकट प्रचलनमा ल्याएको जनाएको छ । कार्यक्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले उक्त हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरे । सोही कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बिसे नगर्ची र वाङ्गे सार्कीको तस्बिर अंकित हुलाक टिकट जारी हुनुले दलित समुदायका ऐतिहासिक योगदानलाई राज्यले सम्मान गरेको बताए । उनले सूचना प्रविधिको तीव्र विकास भएको वर्तमान समयमा पनि हुलाक सेवाको उपादेयता कायम रहेको उल्लेख गर्दै यसलाई आधुनिक कुरियर सेवाका रूपमा विकास गर्न आवश्यक रहेको बताए । सञ्चारसचिव राजेन्द्रकुमार पौडेलले परिवर्तित परिस्थितिमा हुलाक सेवालाई नागरिक सेवा विस्तारको प्रभावकारी माध्यम बनाउनुपर्ने बताए । देशभरका पालिका तहसम्म फैलिएको हुलाक सञ्जाललाई उपयोग गर्दै सरकारी कुरियर सेवाका रूपमा नागरिकका घरघरमा सेवा पुर्याउन सकिने उल्लेख गर्दै उनले हुलाक सेवाले आफूलाई पुनर्जागृत गरिरहेको बताए । हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै सचिव पौडेलले निजी क्षेत्रसँग सहकार्य र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताए । सरकारी संयन्त्रको देशव्यापी पहुँचलाई प्रभावकारी रूपमा उपयोग गर्न सके हुलाक सेवाले नागरिकलाई थप सहज र भरपर्दो सेवा दिन सक्ने उनको भनाइ थियो । हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवा विश्वभर अझै सान्दर्भिक रहेको बताउनुभयो। विशेषगरी दुर्गम क्षेत्रमा सेवा पुर्याउन हुलाकले निर्वाह गरेको भूमिकाका कारण अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त हुनु गौरवको विषय भएको उनले उल्लेख गरे । उनका अनुसार हुलाक सेवा क्रमशः स्मार्ट अवधारणामा अघि बढ्दै आधुनिकीकरणको चरणमा प्रवेश गरिरहेको छ । बदलिँदो प्रविधि र नागरिकको आवश्यकताअनुसार सेवाको स्वरूप परिवर्तन गर्दै यसको पहुँच र प्रभावकारिता बढाउनुपर्ने उनको भनाइ थियो ।