खोप उपलव्ध गराएको भन्दै चीन सरकारलाई गृहमन्त्री खाँणले दिए धन्यवाद 

चिनियाँ राजदूतसँग गृहमन्त्रीको भेट 
सोमबार, साउन २५, २०७८

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।  गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री खाँणले कोभिडविरुद्धको लडाइँमा चीनको ठूलो साथ र सहयोग रहेको बताउँदै कोरोना खोप उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई विशेष धन्यवाद दिएका छन् । गृहमन्त्रीले खाँणले चिनियाँ सरकारले नेपाललाई गर्दै आएको मानवीय सहयोगको उच्च प्रशंसा पनि गरे । भेटमा चिनियाँ राजदूत होउले नयाँ सरकारको सफलताको कामना गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपाल–चीनबीचको सम्बन्ध धेरै पुरानो भएको भन्दै उक्त सम्बन्धलाई चीन निरन्तरता दिन चाहेको बताइन् । उनले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधँै सकारात्मक रहेको पनि बताइन् । 

चिनियाँ संस्थाद्वारा आश्रित फाउन्डेशनलाई स्वास्थ्य सामग्री प्रदान 
नेपालमा बस्ने चिनियाँ नागरिकहरूको सहयोगी संस्था ‘निपोअर ह्वा रन ह्वा छ्याओ से हुइ’ ले जीवराज आश्रित फाउन्डेशनलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष चीन्ले फाउन्डेशनका अध्यक्ष डा सागर न्यौपानेलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरे । 
ती सामग्रीहरूमा पोजिटिभ एअरवे प्रेसर युनिटस, हाई फ्लो नसल क्यानुल्स ५०० थान, पीपीई एक हजार ५००, २० हजार थान सर्जिकल मास्क, हाई क्वालिटी मास्क १० हजार ८०० थानलगायत अन्य स्वास्थ्य विपद् सामग्रीहरू रहेका छन् ।
कोभिड–१९ को महामारीले मुलुक आक्रान्त भएको समयमा उक्त स्वास्थ्य सामग्रीले कोभिडविरुद्धको लडाइँमा नेपाललाई थोरै भए पनि सहयोग पुग्ने संस्थाका अध्यक्ष चीन्लेले विश्वास व्यक्त गर्नुभएको छ । फाउन्डेशनका अध्यक्ष डा न्यौपानेका अनुसार प्राप्त स्वास्थ्य सामग्रीहरू लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी प्रदेशका अन्य दुर्गम गाउँपालिकास्थित स्वास्थ्य केन्द्रहरूमा प्रदान गरिनेछ । तत्कालीन नेकपा (एमाले)का सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा स्थापित फाउन्डेशनले विभिन्न सामाजिक र प्राज्ञिक कार्यहरू गर्दै आएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  ०६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार