सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विहीबार देखि सुरु भएको वर्षाका कारण नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनको कार्यतालिका प्रभावित भएको छ । केन्द्रीय निर्वाचन समितिले यसअघि असोज १० गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको थियो । तर, पछिल्ला दिनमा देशभर जारी वर्षा र त्यसबाट उत्पन्न आवागमनको समस्याका कारण तोकिएको मितिमा अधिवेशन सञ्चालन गर्न कठिनाइ देखिएको हो । कांग्रेसले १५ औं महाधिवेशनको प्रारम्भिक चरणअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न गरिसकेको छ भने असोज ७ गते गाउँ–नगर अधिवेशन गर्ने कार्यतालिका थियो । त्यसपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनतर्फ जाने तयारी थियो । तर, असोज ८ गतेदेखि निरन्तर भइरहेको वर्षाले क्षेत्रीय प्रतिनिधिलाई अधिवेशनस्थलसम्म पुग्नै समस्या हुने अवस्था सिर्जना भएपछि विभिन्न जिल्लामा अधिवेशनको मिति पुनर्विचार गर्न थालिएको छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा भने असोज १० गतेका लागि तय भएको अधिवेशन असोज १४ गते गर्ने तयारी भएको छ । इलाम क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवारसमेत रहेका केन्द्रीय सदस्य हिमालय कर्मचार्यले जिल्लाको क्षेत्रीय अधिवेशन असोज १४ गते गर्ने तयारी भएको जानकारी दिए । ‘इलाम जिल्लाको क्षेत्रीय अधिवेशन असोज १४ गते बुधबार गर्ने तयारी भयो,’ उनले भने । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा भने नयाँ मितिबारे अझै टुंगो लागिसकेको छैन । अविरल वर्षाका कारण क्षेत्रीय प्रतिनिधि सदरमुकामसम्म आउन सक्ने अवस्था नरहेको केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए । ‘भोलि नै अधिवेशन सम्भव छैन । क्षेत्रीय प्रतिनिधि सदरमुकाम आउन सक्ने अवस्था पनि छैन,’ खतिवडाले भने, ‘कहिले गर्ने भनेर हामी छलफलमै छौं ।’
मौसम हेरेर अनुकूल मितिमा अधिवेशन गर्न निर्देशन क्षेत्रीय अधिवेशन प्रभावित हुन थालेपछि कांग्रेस केन्द्रीय निर्वाचन समितिले पनि निर्वाचन अधिकृतहरूबाट विभिन्न जिल्लाको अवस्थाबारे जानकारी लिएको छ । समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेका कारण अधिवेशन प्रक्रिया सञ्चालनमा कठिनाइ भइरहेको जानकारी प्राप्त भएको उल्लेख छ । थप केही दिन वर्षा कायम रहने भन्दै मौसम विभागलगायत सम्बन्धित निकायले सतर्क रहन सूचना जारी गरेको अवस्थालाई समेत ध्यानमा राख्दै समितिले असोज १० गतेका लागि तोकिएका प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम स्थानीय मौसमको अवस्था हेरेर अनुकूल मितिमा गर्न निर्देशन दिएको छ । तर, नयाँ मितिमा सारिएको अधिवेशन असोज १३ गतेभित्र सम्पन्न गरिसक्न समितिले भनेको छ । निर्वाचन समितिले हालसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको पनि जनाएको छ । समितिका अनुसार १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेको छ भने गाउँरनगर अधिवेशन सम्पन्न हुने क्रम जारी छ । केन्द्रीय निर्वाचन समितिको परिपत्रअनुसार अछाममा पनि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनको तयारी भइरहेको छ । तर, प्रतिकूल मौसमका कारण अधिवेशनको मिति र निर्वाचन कार्यक्रमलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा जिल्ला नेतृत्वसँग छलफल भइरहेको छ । अधिवेशन गराउन अछाम पुगेका निर्वाचन अधिकृत अधिवक्ता भोविन्द्र (भूपेन्द्र) शाह ठकुरीले मनोनयनलगायतका प्रारम्भिक कार्यक्रमलाई तत्काल परिवर्तन नगरी मौसमको अवस्था हेरेर अन्तिम कार्यतालिका तय गर्ने तयारी भइरहेको बताए । ‘भोलि हुने अधिवेशनका लागि मनोनयनको कार्यक्रम तलमाथि नगर्ने सोचमा छु । जिल्ला तथा सम्बन्धित साथीहरूसँग छलफलमा छु,’ उनले भने, ‘आज साँझसम्म कार्यतालिका निकाल्छु । वर्षाको अवस्था के हुन्छ, त्यसअनुसार निर्वाचन कार्यतालिका निकाल्ने तयारी गरिरहेको छु ।’
किन महत्त्वपूर्ण छ क्षेत्रीय अधिवेशन ? कांग्रेसको महाधिवेशन प्रक्रियामा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई महत्त्वपूर्ण चरणका रूपमा लिइन्छ । प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट प्रदेश महाधिवेशन प्रतिनिधि चयन हुन्छन् भने प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन् । कांग्रेसको विधानअनुसार प्रदेश महाधिवेशन प्रतिनिधिले सम्बन्धित प्रदेशमा नेतृत्व चयन प्रक्रियामा मतदान गर्न पाउँछन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिले जिल्ला सभापतिसहित प्रदेश तहका विभिन्न पदमा उम्मेदवार बन्न र मतदान गर्न पाउने अधिकार राख्छन् । यिनै प्रतिनिधिमध्येबाट महासमिति सदस्य चयन हुने तथा पार्टीको केन्द्रीय कार्यसमिति, पदाधिकारी र सभापतिसम्मको निर्वाचन प्रक्रियामा सहभागी हुने बाटो खुल्ने भएकाले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई कांग्रेसको महाधिवेशन प्रक्रियाको निर्णायक चरणमध्ये एक मानिन्छ । त्यसैले असोज १० का लागि तय भएको क्षेत्रीय अधिवेशनमा परेको मौसमको असरले कांग्रेसको महाधिवेशनको आगामी तालिकामै समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिएको छ ।