सोसल मिडिया
Contact Us
युनिकोड
सिरहा । केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाका प्रमुख नदी तथा जोखिमयुक्त क्षेत्रको स्थलगत निरीक्षण गरी सतर्कता बढाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी सम्मिलित टोलीले सिरहा–धनुषा जोड्ने कमला नदी र सिरहा–सप्तरी जोड्ने लहानस्थित बलान नदीको स्थलगत निरीक्षण गरेको हो । निरीक्षणका क्रममा दुवै नदीको अवस्था हालसम्म सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए । उनका अनुसार बुधबार कमला नदीको पानीको बहाव केही बढेको देखिए पनि अहिले अवस्था नियन्त्रणमै रहेको छ । लहानस्थित बलान नदीमा समेत पानीको बहाव बढेको भए पनि हालसम्म जोखिमपूर्ण अवस्था नरहेको उनले बताए । बरालका अनुसार बलान नदीमा पानीको सतह थप बढेमा लहान नगरपालिका–५ प्रभावित हुनसक्ने भएकाले स्थानीय तहसँग समन्वय गरी सम्भावित जोखिम न्यूनीकरणका उपायबारे छलफल भइरहेको छ । यस्तै, कमला नदीमा पानीको बहाव बढेमा सिरहा र धनुषातर्फका नदी आसपासका बस्ती तथा केही वडा प्रभावित हुनसक्ने प्रशासनको आकलन छ । सिरहा नगरपालिका–६ पूर्णरूपमा प्रभावित हुनसक्ने तथा आसपासका केही वडा आंशिक जोखिममा पर्न सक्ने जनाइएको छ । कल्याणपुर नगरपालिकाका चिकना, भोक्राहा लगायतका क्षेत्रमा समेत सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगरानी बढाइएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले नदी तथा खोलानाला आसपास बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन तथा सम्भव भएसम्म लामो दूरीको यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले पनि सर्वसाधारणलाई मौसमको अवस्था हेरेर आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । असोज ८ गतेदेखि ११ गतेसम्म देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई थप सचेत रहन उनले आग्रह गरेका हुन् । प्रशासनले सम्भावित विपद्को अवस्थामा सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी तत्काल उद्धार तथा राहतका लागि आवश्यक तयारीसमेत गरिरहेको जनाएको छ।