जलवायु संकटविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाह

शुक्रबार, असोज ९, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको भन्दै जलवायु संकट समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालका हिमाली क्षेत्रमा आएको भीषण बाढीलाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताए । उनले केही साताअघि भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढी स्थानीय विपद् मात्र नभई जलवायु परिवर्तनको विश्वव्यापी असरको संकेत भएको बताए ।  प्रधानमन्त्री शाहले बढ्दो तापक्रमका कारण हिमालको संवेदनशील पारिस्थितिक प्रणालीमा असर परेको बताए । उनले स्थायी हिउँ तह पग्लिँदै जाँदा हिमनदीमुनिका पहाडी भिरालो क्षेत्र अस्थिर बन्दै गएको र हिमपहिरो, बाढी तथा पहिरोजस्ता विपद्को जोखिम बढेको उल्लेख गरे ।  उनले जलवायु परिवर्तनले नेपाल, भारत र चीनसहित हिमाली क्षेत्रका मुलुकहरूबीच सहकार्य आवश्यक रहेको बताए ।  प्रधानमन्त्री शाहले विपद्पछि नेपाल पुनर्लाभ र पुनर्निर्माणको ठूलो चुनौतीमा रहेको बताए। उनका अनुसार बाढीका कारण कम्तीमा १ हजार ४ सय जनाको मृत्यु भएको र ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता छन्। भौतिक संरचनाको पुनर्लाभका लागि मात्र कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत बराबरको रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको उनले बताए । नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु संकटको ठूलो मूल्य चुकाइरहेको प्रधानमन्त्री शाहले बताए । हिमनदी खुम्चिँदै जानु, पहाडी भिरालो अस्थिर हुनु, नदीको बहाव अनिश्चित बन्नु र विपद्का कारण वर्षौंको विकास प्रभावित हुनु नेपालका प्रमुख चुनौती भएको उनले बताए ।  उनले जलवायु संकटलाई केवल मानवीय सहायता वा राहतको विषयका रूपमा नभई विकासको संकटका रूपमा बुझ्नुपर्ने बताए । उनले जलवायुजन्य विपद्का कारण सडक, पुल, विद्यालय, घर, खेतबारी तथा जीविकोपार्जनका आधार नष्ट हुने र विकासशील मुलुकहरू थप ऋणको बोझमा पर्ने अवस्था अन्त्य गर्नुपर्ने उल्लेख गरे ।  प्रधानमन्त्री शाहले बहुपक्षीयतामा नेपालको विश्वास रहेको बताउँदै संयुक्त राष्ट्रसङ्घमा साना तथा गरिब राष्ट्रहरूको आवाज पनि प्रभावकारी रूपमा सुनिनुपर्ने बताए । जलवायु न्याय भनेको आर्थिक सहयोग मात्र नभई त्यसको लागत कसले व्यहोर्ने र नीति निर्माणमा कसको आवाज रहने भन्ने विषयसँग समेत सम्बन्धित रहेको उनले बताए । उनले नेपालको नयाँ पुस्ताले निष्ठा, जवाफदेहिता र अवसरमा आधारित राजनीतिका लागि आवाज उठाएको बताए । आफ्नो सरकारको लक्ष्य मर्यादित रोजगारी, सामाजिक सुरक्षा र प्रत्येक नेपालीले आफ्नै भूमिमा फल्न–फुल्न पाउने समान अवसर सुनिश्चित गर्ने राज्य निर्माण गर्नु रहेको उनले बताए । प्रधानमन्त्री शाहले अब विपद् आएपछि मात्र प्रतिक्रिया दिने पद्धतिबाट पूर्वतयारीमा आधारित प्रणालीतर्फ जानुपर्नेमा जोड दिए । पुनरुत्थानशीलता, बीमा, नयाँ प्रविधि, बलिया पूर्वाधार र संस्थामा लगानी बढाउँदै जीवाश्म इन्धनमाथिको निर्भरता घटाउनुपर्ने उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  ११:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार