राष्ट्र संघको महासभामा विश्वका नेताहरूलाई प्रधानमन्त्रीले भने,  ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’

शुक्रबार, असोज ९, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विपद्लाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन् । महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, ‘म हिमालयमा अवस्थित नेपालजस्तो टाढाको देशबाट तपाईंहरूसामु एउटा गम्भीर चेतावनी बोकेर आएको छु– यो चेतावनी सम्पूर्ण मानवताका लागि हो ।’ उनले सम्बोधनमा विकास, लोकतन्त्र, शान्ति र युवा राष्ट्रका आशाबारे मात्रै कुरा गर्न चाहेको भए पनि नेपालमा भएको ठूलो विपद्का कारण मृत्यु र विनाशबारे बोल्नुपरेको बताए । ‘म परिवारका सदस्य गुमाएका र आफ्ना प्रियजन कहिल्यै घर नफर्किने प्रतीक्षामा रहेका परिवारबारे बोल्नुपरेको छ । म हिलो, चट्टान र पानीमा आफ्ना आफन्त खोजिरहेका समुदायबारे बोल्नुपरेको छ । कतिपय मानिसका शवसमेत कहिल्यै फेला नपर्न सक्छन्,’ उनले भने । प्रधानमन्त्री शाहले केही मिनेटमै पुल, सडक, विद्यालय, घर तथा मानिसहरूको जीविकोपार्जन बगाएको उल्लेख गरे । दिगो विकास लक्ष्य हासिल गर्दै निरन्तर प्रगतितर्फ अघि बढिरहेको नेपाललाई केही साताअघि आएको विपद्ले गम्भीर रूपमा प्रभावित बनाएको उनको भनाइ थियो । उनले नेपालका हिमाली समुदायलाई तहसनहस बनाएको विनाशकारी बाढीका दृश्यले विश्वलाई झस्काएको बताए । उक्त विपद्लाई कतिपयले ‘माउन्टेन सुनामी’ र ‘हिमालयन सुनामी’ समेत भनेको उल्लेख गर्दै शाहले भने, ‘भोटेकोसी–त्रिशूली विपद् केवल स्थानीय त्रासदी थिएन, यो विश्वका लागि एउटा चेतावनी थियो ।’ प्रधानमन्त्री शाहले प्रश्न गरे, ‘आज म तपाईंहरूलाई सोध्न चाहन्छु– के तपाईंहरूले त्यो चेतावनी वास्तवमै सुन्नुभएको छ ?’ उनले करिब तीन वर्षअघि सगरमाथाको छायामा उभिएर संयुक्त राष्ट्रसंघका महासचिवले मानवतामाथि आइरहेको जलवायु संकट र त्यसको सम्भावित विनाशबारे चेतावनी दिएको स्मरण गरे । ‘विश्वकै छानोबाट आएको त्यो पुकार पर्याप्त ठूलो स्वरमा सुनिएन । नेपालले त्यो आवाज सुन्यो, हाम्रा समुदायले सुने, विश्वभरका वैज्ञानिकले सुने । उनीहरूले प्रमाणसहित त्यस चेतावनीलाई दोहोर्‍याए,’ शाहले भने । तर राजनीतिक नेतृत्वले ती चेतावनीलाई जोखिममा रहेका मानिसहरूले आवश्यक ठानेको गति र स्तरमा ठोस कार्यमा रूपान्तरण गर्न नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘गत महिना हामीले त्यस चेतावनीको दुःखद परिणाम देख्यौँ,’ उनले भने, ‘जलवायु परिवर्तनले संवेदनशील हिमालयको पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको छ । पग्लिँदो स्थायी तुषारो ९पर्माफ्रस्ट०ले हिमाली भिरालो भूभागमा चिरा पारिरहेको छ, हिमनदीमुनिका संरचनालाई कमजोर बनाइरहेको छ र बरफ तथा चट्टानका पहिरोको जोखिम बढाइरहेको छ ।’ प्रधानमन्त्री शाहले हिमालयमा देखिइरहेका यी परिवर्तनलाई नेपाल मात्रै नभई विश्वकै साझा चुनौतीका रूपमा लिनुपर्ने सन्देश दिए ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  ०६:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार