रक्षा खर्चबारे राष्ट्रपतिको भिटोलाई संसद्ले उल्ट्यायो

शनिबार, पुस १८, २०७७

वासिङटन । अमेरिकी संसद्ले रक्षा खर्चसम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेको विशेषाधिकार अर्थात् भिटोलाई उल्टाइदिएको छ । उनको राष्ट्रपतीय कार्यकालमा पहिलोपटक संसद्ले यस्तो गरेको हो । नयाँ वर्षका बेला रिपब्लिकनको नियन्त्रणमा रहेको माथिल्लो सदन सिनेटले दुर्लभ रूपमा यस कदमबारे छलफल गर्न सत्र सञ्चालन गरेको थियो । सिनेटमा ८१ जनाले यसको विपक्षका उत्रिएका थिए भने १३ जनाले ट्रम्पलाई साथ दिएका थिए । उनीहरूले ट्रम्पले भिटो प्रयोग गरेर रोकेको नेशनल डिफेन्स अथोराइजेसन एक्ट एनडीएए पारित गरेका छन् । जसको पक्षमा यसअघि नै तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले मतदान गरिसकेको छ ।

प्रक्रिया
अमेरिकी संसद्को दुवै सदनमा दुईतिहाइ बहुमतले राष्ट्रपतिको भिटोलाई उल्टाउन सक्छ । नयाँ परित ७४० अर्ब डलरको विधेयकले आउँदो वर्षको रक्षा नीतिका लागि खर्च जुटाउनेछ । अबको केही सातामा कार्यकाल सकिन लागेका ट्रम्पले विधेयकको केही व्यवस्थाबारे प्रश्न उठाएका थिए । अमेरिकी संसद्मा नवनिर्वाचित सदस्यहरूले सपथग्रहण गर्नुभन्दा एक दिनअघि यस्तो विकासक्रम देखिएको हो । सत्र सुरु हुनुअघि सिनेटका रिपब्लिकन नेता मिच मक्कोनेलले उक्त विधेयक पारित हुनेमा आफू विश्वस्त रहेको बताएका थिए । उनले भनेका थिए, ‘हामीले ५९ वर्षदेखि लगातार यस विधयेक पारित गर्दै आएका छौँ । आइतवार संसद् सकिनुअघि हामीले एक वा अर्को रूपबाट यसलाई पारित गर्छौँ ।’

ट्रम्प के चाहन्थे ?
उनले उक्त विधेयकले सामाजिक सञ्जाल कम्पनीहरूको जिम्मेवारी स्पष्ट गर्ने व्यवस्थालाई समेत हटाउन चाहन्थे । मतदानपछि ट्रम्पले ट्वीटमार्फत् प्रतिक्रिया जनाएका छन्, ‘हाम्रो रिपब्लिकन सिनेटले सेक्सन २३० बाट मुक्ति पाउने अवसर गुमाएको छ । जसले ठूला प्रविधि कम्पनीलाई असीमित अधिकार दिएको छ । दयनीय !’संसद्ले पारित गरेको विधेयक कानुन बन्नका लागि राष्ट्रपतिको हस्ताक्षर आवश्यक पर्छ । तर कहिलेकाहीँ आफ्ना नीतिगत असन्तुष्टिका कारण राष्ट्रपतिले त्यसमाथि भिटो प्रयोग वा अस्वीकार गर्न सक्छन् । त्यसलाई दुवै सदनबाट दुईतिहाइ मतले पारित गरेर संसद्ले त्यस्तो भिटोलाई उल्टाउन सक्छन् । राष्ट्रपति ट्रम्पले यसअघि आठवटा विधेयकमा भिटो प्रयोग गरेका थिए । ती सबैलाई त्यहाँ उनका रिपब्लिकन सांसद्हरूले साथ दिएका थिए । झण्डै एक वर्ष समय खर्चिएर तयार पारिएको ४,५०० पृष्ठको उक्त विधेयकलाई ट्रम्पले ‘चीन र रुसबाट आएको उपहार’ बताएका छन् ।–बीबीसी 
 

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १६:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार