भारी वर्षाको जोखिम 

राति यात्रा नगर्न र उच्च सतर्कता अपनाउन गृह मन्त्रालयको आग्रह

शुक्रबार, असोज ९, २०८३

काठमाडौं । आज असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि गृह मन्त्रालयले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले जोखिमयुक्त सडकमा यात्रा गर्नुअघि सडक र यातायात सेवाको अवस्था बुझ्न तथा सम्भव भएसम्म अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।  बिहीबार जारी अनुरोधमा जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिन, बाढी पूर्वानुमान बुलेटिन र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको उच्च सतर्कतासम्बन्धी सूचनाको पालना गर्न भनिएको छ । मन्त्रालयले जोखिमको सूचना पूर्वतयारी, पूर्वसतर्कता र सचेतनाका लागि समुदायसम्म समयमै पुर्‍याउन आग्रह गरेको छ । उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई आवश्यक परे विपद् आउनुअघि नै सुरक्षित स्थानमा सार्न सहयोग गर्न पनि भनेको छ । हिमाली क्षेत्रमा भारी हिमपात र मौसम प्रतिकूल हुन सक्ने भएकाले पदयात्रा तथा हिमाल आरोहणमा नजान मन्त्रालयले अनुरोध गरेको छ । पदयात्रा वा उच्च हिमाली क्षेत्रमा रहेका पर्यटक र पदयात्रीलाई तत्काल सुरक्षित स्थानमा फर्किन भनिएको छ । बालबालिका, वृद्धवृद्धा, गर्भवती र अपांगता भएका व्यक्तिलाई पूर्वतयारीका साथ सुरक्षित राख्न स्थानीय प्रशासन र स्थानीय तहसँग सहकार्य गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ । मौसम तथा वर्षासम्बन्धी जानकारीका लागि ११५५, नेपाल प्रहरीका लागि १००, सशस्त्र प्रहरी बलका लागि १११४ र विपद्को आपत्कालीन हटलाइनमा १२३४ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  ०५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार