सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज असोज ९ देखि पर्सि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा र हावाहुरी आउन सक्ने पूर्वानुमानलाई ध्यानमा राख्दै अनावश्यक लामो दूरीको यात्रा नगर्न र राति सकेसम्म राजमार्गमा नहिँड्न नागरिकलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिका पुगेको प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै पूर्वसावधानी र सतर्कता नै विपद् व्यवस्थापनको मुख्य आधार भएको बताएका छन्। उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचना हेरेर सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागले पनि असोज ९ देखि ११ गतेसम्मको मौसमलाई ध्यानमा राखी लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ । प्रधानमन्त्री शाहका अनुसार सरकारले पछिल्लो २४ घण्टामा मन्त्रालय र मातहतका निकायमार्फत पूर्वतयारीसम्बन्धी निर्देशन तथा सार्वजनिक सूचना जारी गरेको छ । उनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको र जिल्ला सुरक्षा समितिमार्फत नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् ।
सडकमा ‘रोक, पर्ख र हेर’ नीति प्रधानमन्त्री शाहले राजमार्गका सुरक्षा जाँच चौकीले अघिल्लो चौकीसँग सम्पर्क गरी अगाडिको सडक खण्ड सुरक्षित रहेको सुनिश्चित भएपछि मात्रै सवारी अघि बढाउने ‘रोक, पर्ख र हेर’ नीति लागू गरिएको बताएका छन् । उनका अनुसार जोखिमयुक्त सडक खण्डमा राति सवारी सञ्चालन नगर्न निर्देशन दिइएको छ । अवरुद्ध सडक खुलाउन आवश्यक पर्न सक्ने एक्स्काभेटर, लोडर र डोजरलगायतका उपकरण जोखिमयुक्त क्षेत्र नजिक तयारी अवस्थामा राख्ने तथा सडकको अवस्थाबारे नियमित जानकारी सार्वजनिक गर्ने व्यवस्था मिलाइएको पनि उनले जनाएका छन् ।
स्थानीय तहदेखि स्वास्थ्य संस्थासम्म तयारी सबै ७५३ स्थानीय तहलाई विपद् व्यवस्थापन समितिको बैठक बसेर तयारी गर्न, जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न र प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन भनिएको प्रधानमन्त्रीको भनाइ छ । सार्वजनिक बिदामा पनि राष्ट्रसेवक कर्मचारीलाई आफू सुरक्षित रहँदै सम्भावित विपद् प्रतिकार्यका लागि तत्पर रहन निर्देशन दिइएको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहका अनुसार स्थानीय तहसँग समन्वय गरी आवश्यकता हेरेर असोज ९ गते विद्यालयको पठनपाठन सञ्चालन नगर्न तथा उक्त अवधिका परीक्षा आवश्यकता अनुसार स्थगित गर्न सम्बन्धित निकायलाई भनिएको छ। उनले अभिभावकलाई बालबालिका नदी, खोला, पोखरी र पहिरोको जोखिम भएका स्थानमा जान नदिन अनुरोध गरेका छन् । अस्पताल र स्वास्थ्य चौकीलाई जनशक्ति तथा औषधि सामग्री तयारी अवस्थामा राख्न, खाद्य गोदाममा आवश्यक मौज्दात कायम गर्न र कृत्रिम अभाव तथा अनुचित मूल्यवृद्धि रोक्न बजार अनुगमन गर्न निर्देशन दिइएको पनि प्रधानमन्त्रीले जनाएका छन् । पदयात्रा र पर्वतारोहणमा रहेका पर्यटकको सुरक्षाका लागि सम्बन्धित व्यवसायीसँग समन्वय गर्न तथा मौसमअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड पालना गर्न भनिएको उनले उल्लेख गरेका छन् । आपत्कालीन अवस्थामा हेलो सरकार ११११, हेलो गृह १११२, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ वा स्वास्थ्य हेल्पलाइन १११५ मा सम्पर्क गर्न प्रधानमन्त्री शाहले आग्रह गरेका छन् । उनले मौसम पूर्वानुमानका लागि ११५५ मा फोन गर्न सकिने जानकारी पनि दिएका छन् ।