सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकले सात जना स्थायी कमिटी सदस्य चयन गर्नुका साथै २० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ । ललितपुरको रामबाग महलमा असोज ५ देखि ८ गतेसम्म बसेको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको एमालेले जनाएको छ । बैठकले पार्टीका पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनित गरेको छ । एमालेका अनुसार स्थायी कमिटी सदस्यमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापा चयन भएका छन् । त्यस्तै, काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरुङ, प्रेम दंगाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा र बिना बास्तोलालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरिएको छ । बैठकले स्थायी कमिटीलाई पूर्णता दिने, पोलिटब्युरो गठन गर्ने, सल्लाहकार परिषद् तथा विभाग गठन गर्ने र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने विषयमा आवश्यक निर्णय लिन सचिवालयलाई अधिकार प्रत्यायोजन गरेको छ । बैठक समापन गर्दै अध्यक्ष ओलीले एमाले उन्नतस्तरको समझदारी र सुदृढ एकता भएको पार्टीका रूपमा तेस्रो केन्द्रीय कमिटी बैठकबाट समेत प्रस्तुत भएको बताएका थिए ।
भोटेकोशी बाढीबारे सरकारको आलोचना
बैठकले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । एमालेले बाढीबाट विस्थापित बालबालिका, गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई केन्द्रमा राखेर पुनस्र्थापनाको काम तत्काल अघि बढाउन माग गरेको छ । ध्वस्त भएका पुल तथा सडक मर्मत गरी प्रभावित क्षेत्रको यातायात सम्पर्क पुनः सञ्चालन गर्न र वैज्ञानिक अध्ययनका आधारमा बस्ती पुनर्निर्माण गर्न पनि माग गरिएको छ । बैठकले विपद्का समयमा सरकारको उद्धार तथा राहत व्यवस्थापन प्रभावकारी हुन नसकेको आरोप लगाएको छ । प्रदेश तथा स्थानीय सरकार, राजनीतिक दल र अन्य पक्षसँग पर्याप्त समन्वय नगरेका कारण उद्धार तथा राहत प्रभावित भएको एमालेको आरोप छ । त्यस्तै, विपद्को समयमा उद्धार तथा राहतमा खटिएका पार्टीसम्बद्ध जनसंगठन र स्वयंसेवकको प्रशंसा गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रसेवक कर्मचारी, बागमती प्रदेश सरकार तथा स्थानीय तहलाई धन्यवाद दिएको छ ।
ओली र पौडेलको गिरफ्तारीको विरोध
एमालेले अध्यक्ष ओली र पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै विरोध गरेको छ । बैठकले गत भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न माग गरेको छ । यसअघि गठित छानबिन आयोगका प्रतिवेदन पूर्ण पाठसहित सार्वजनिक गर्न पनि एमालेले माग गरेको छ । सुकुम्बासी बस्तीमा गरिएको डोजर अभियान, ट्रेड युनियन तथा स्वतन्त्र विद्यार्थी युनियनको अधिकार, सञ्चारमाध्यमको स्वतन्त्रता र नागरिक तथा अभियन्ताको गिरफ्तारीका विषयमा समेत एमालेले सरकारको आलोचना गरेको छ । संविधान संशोधनका नाममा संविधानका आधारभूत संरचना परिवर्तन गर्ने प्रयास स्वीकार्य नहुने बताउँदै एमालेले संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने जनाएको छ ।
महँगी र आर्थिक अवस्थाप्रति चिन्ता
बैठकले खाना पकाउने ग्यासको आपूर्ति, बढ्दो महँगी र कर वृद्धिका कारण नागरिक समस्यामा परेको जनाएको छ । ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न, महँगी नियन्त्रण गर्न र कर वृद्धिको निर्णय फिर्ता लिन सरकारसँग माग गरिएको छ । व्यवसायीको मनोबल कमजोर भएको र लगानी संकुचित हुँदै गएको उल्लेख गर्दै अनुकूल व्यावसायिक वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
राष्ट्रिय हित र प्रवासी नेपालीका विषयमा पनि प्रस्ताव
एमालेले नेपालको राष्ट्रिय हितविरुद्धका गतिविधि बढेको दाबी गर्दै राष्ट्रियता, महत्वपूर्ण प्राकृतिक स्रोतको संरक्षण र राष्ट्रिय स्वाभिमानका विषयमा सरकारलाई संवेदनशील हुन आग्रह गरेको छ । राष्ट्रिय हित, लोकतन्त्र र संविधानको रक्षा तथा जनताका सवालमा संवाद, सहकार्य र एकताका लागि सबै राजनीतिक दल, नागरिक तथा बौद्धिक समुदायलाई आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यस्तै, प्रवासी नेपालीलाई नेपालको लोकतन्त्र र राष्ट्र निर्माणका साझेदारका रूपमा उल्लेख गर्दै उनीहरूको मताधिकार, नागरिकता, लगानी, रोजगारी र सामाजिक सुरक्षासम्बन्धी सरोकार सम्बोधन गर्न पार्टी प्रतिबद्ध रहेको जनाएको छ ।
पार्टी एकता सुदृढ भएको एमालेको निष्कर्ष
बैठकले पार्टीभित्रको आन्तरिक एकता सुदृढ गर्न तथा पार्टी पुनर्जागरण र सुदृढीकरणका लागि ठोस योजना निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेको एमालेले जनाएको छ । विगतका कमजोरीको समीक्षा गरी सुधार तथा रूपान्तरणको मार्गचित्र तयार गरिएको र बैठकपछि पार्टी थप एकजुट भएको एमालेको निष्कर्ष छ । पार्टीले लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीलाई प्रमुख कार्यभारका रूपमा अघि बढाउने जनाएको छ । यसैबीच, जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन विभिन्न भूभागमा ठूलो वर्षाको सम्भावना औँल्याएको भन्दै एमालेले नागरिकलाई सतर्क रहन, सम्बन्धित निकायका सूचना पालना गर्न र अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेको छ ।