सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत ललितपुर जिल्लाका ७१ वडासँगै ६ वटा स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सबै स्थानीय तहमा सर्वसम्मत रूपमा पालिका सभापति चयन भएका छन् । ललितपुर महानगरपालिकाको सभापतिमा राजु महर्जन सर्वसम्मत चयन भए । महर्जन ललितपुर महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता समेत हुन् । त्यस्तै, गोदावरी नगरपालिकाको सभापतिमा शेखर न्यौपाने सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा ललितपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव रहेका न्यौपाने गोदावरी नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष हुन् । न्यौपाने गोदावरी नगरपालिकाको सामाजिक समिति संयोजक समेत छन् । गोदावरी नगरपालिका वडा नम्बर ११ का पूर्ववडा सभापति सागर चित्रकारले न्यौपानेलाई समर्थन गरेपछि उनी सभापतिमा चयन भएका हुन् । महालक्ष्मी नगरपालिकाको सभापतिमा नन्द केसी चयन भएका छन् । बागमती गाउँपालिकाको सभापतिमा वीरबहादुर लोप्चन पुनः चयन भएका छन् । यसअघि पनि वीरबहादुर पालिकाको सभापति थिए । लोप्चन बागमती गाउँपालिकाका अध्यक्षसमेत हुन् । महांकाल गाउँपालिकाको सभापतिमा तुलप्रसाद तिमल्सिना सर्वसम्मत चयन भएका छन् भने कोन्ज्योसोम गाउँपालिकाको सभापतिमा जीवन बल सर्वसम्मत चयन भएका छन् ।