परम्परा तोड्दै प्रधानमन्त्री शाह, विदाइमा कुनै किसिमको ‘तामझाम’ गरिएन 

मंगलबार, असोज ६, २०८३

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका प्रधानमन्त्री बालेन्द्र शाहले विदाइको परम्परागत शैली ताडेका छन् ।  उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपराह्न न्युयोर्क प्रस्थान गरेका प्रधानमन्त्री शाहले औपचारिक विदाइको तामझाम नगरेको उनको नीजि सचिवालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा उनलाई परम्परागत औपचारिक बिदाइ समारोहको कुनै कार्यक्रम तय गरिएन । उनी बालुवाटारबाट सिधै विमानस्थल गई भीआइपी वे हुँदै विमानतर्फ गएका छन् ।  विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलको भीआईपी लाउन्जमा औपचारिक कार्यक्रम हुने गरेको भएपनि बालेनले त्यो परम्परा तोडेका हुन् ।  सामान्यत प्रधानमन्त्रीको विदाइमा मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, विदेशी कूटनीतिज्ञ तथा राजनीतिक दलका नेताहरु विमानस्थल पुग्ने गरे पनि मंगलबार साँझ कसैलाई पनि निम्ता गरिएको थिएन ।  त्यस्तै, प्रधानमन्त्रीको विदाइमा नेपाली सेनाले गार्ड अफ अनरसमेत दिने परम्परा रहेको भएपनि अनरको समेत कार्यक्रम भएन । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेकाले प्रधानमन्त्रीका लागि औपचारिक कार्यक्रम नराखिएको जनाइएको छ ।  प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री शाहले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल न्यूयोर्क पुगिसकेका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्किनेछन् ।
महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री बालेन राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह कतार एयरवेजको विमानबाट दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनका क्रममा उनले भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिसहित नेपालले सामना गरिरहेको जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताइएको छ।
 

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  २०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार