सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको बताएका छन् । आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मेचीदेखि महाकालीसम्म पैदल यात्रा गर्नेबारे जानकारी दिने क्रममा सांसद सिंहले संविधानमाथि प्रहार भइरहेको जानकारी दिए । उनले अहिलेको संविधान कुनै कारणबस गयो भने आगामी १० वर्षसम्म पुनः संविधान नबन्ने दाबी गरे । उनले देश गृहयुद्धमा जाने र मधेशले केही पनि नपाउने बताए । सांसद सिंहले केन्द्रमा शासन गर्नेहरुले मधेशलाई कहिले पनि प्राथमिकतामा नराखेको बताए । उनले जनयुद्ध र मधेश आन्दोलनको जगबाट मधेशले केही उपलब्धि पाएता पनि अहिले त्यसको कुनै औचित्य नदेखिएको बताए । सांसद सिंहले देशमा कुनै न कुनै किसिमले जहिले पनि मधेशमै द्वण्द्व, हिंसा, धार्मिक दंगालगायतका घटना हुने गरेकोप्रति सरकारलाई प्रश्न गरे । उनले मधेश र कोशी प्रदेशलाई ’ब्याटल ग्राउण्ड’ बनाउन खोजिएको बताएका छन् । यस्ता क्रियाकलाप हुनबाट बच्न र बचाउन सांसद सिंहले सबैजनालाई आग्रह गरे । सांसद सिंहले मधेशलाई सरकारसंग जोड्न जनतामाझ गएर उनीहरुको अपेक्षा सुन्ने योजना बनाएको जानकारी दिए । त्यसका निम्ति उनले छठ पर्वको दिन जनकपुरधाममा पूजा गरेर मेचीदेखि महाकालीसम्मको पैदल यात्रा सुरु गर्ने बताए । उनले प्रत्येक दिन पाँच घण्टा पैदल हिँड्ने र सात घण्टा प्रत्यक्ष जनताहरुसंग भेटेर उनीहरुको अपेक्षा सुन्ने बताए । पैदल यात्रा समाप्त भएपछि जनताबाट सुनेका अपेक्षाहरु सरकारसमक्ष राख्ने र ती अपेक्षाहरु पूरा गर्न सरकारलाई आग्रह गर्नुका साथै दबाब दिने सांसद सिंहले जानकारी दिए । रास्वपाकै सांसद भएर सरकारको आलोचना किन गरेको ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा सांसद सिंहले आफूले सरकारको आलोचना वा विरोध नगरेको प्रष्ट पारेका छन् । उनले जनताको आवाज र अपेक्षालाई सरकारसमक्ष राखेको बताए । जनताले चाहेको कुरा सरकारलाई सुनाउनु नै आफ्नो कर्तव्य रहेको र त्यसका निम्ति जुनसुकै पार्टीको सरकार भएपनि आफूले आवाज उठाइरहने उनले प्रष्ट पारे ।