सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवाको भोटेकोशी बाढीपछिको राहत, उद्धार, पुनर्निर्माण तथा पुनर्स्थापनाको काम थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आइतबार बसेको सचिवालय बैठकले यस्तो आग्रह गरेको हो । पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार रास्वपा सचिवालय बैठकले विपद्पछिको खोजी, उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको छ । उनकाअनुसार सरकारका प्रतिनिधिहरूले बैठकमा रसुवा बाढीपछिको खोज, उद्धार र राहतको विषयमा ब्रिफिङ गरेका थिए । उद्धार तथा राहतको काम प्रभावकारी रूपमा अघि बढिरहेको र पुनर्निर्माण तथा पुनर्स्थापनाको कामसमेत समानान्तर रूपमा अघि बढाइएको जानकारी सरकारका प्रतिनिधिले बैठकमा गराएका थिए । बैठकले पहिचान हुन नसकेका शवको डिएनए परीक्षण यथाशीघ्र गरी पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिएको पनि उनले बताए । उनले अझै सम्पर्कविहीन नागरिकको अवस्था तत्काल यकिन गर्नुपर्ने तथा कानुनी अवरोध भए आवश्यक कानुनी व्यवस्था गरेर परिवारको सहमतिमा सहजीकरण गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको बताए । उनले भने, ‘सचिवालय बैठकले धेरै विषयमा गहन छलफल गरेको छ । सबैभन्दा महत्वपूर्ण रूपमा रसुवाको भोटेकोशीमा आएको बाढीपछिको प्रतिकार्यका बारेमा छलफल भएको थियो । बैठकमा विपद्पछिको खोज, उद्धार राहतमा कसरी काम भइरहेको छ ? भनेर सकारका प्रतिनिधिका रूपमा सचिवालय सदस्यबाट ब्रिफिङ भएको छ । उहाँहरूले खोजी, उद्धार तथा राहतको काम प्रभावकारी ढंगले अगाडि बढेको र अझै पनि जारी रहेको तथा पुनर्निर्माण र पुनर्स्थापनाको काम समेत सँगसँगै भइरहेको जानकारी दिनुभएको छ । विपद्पछिको राहत तथा पुनर्स्थापनामा कुनै पनि कसर बाँकी नराख्न पार्टीले आग्रह गरेको छ । पहिचान हुन नसकेका शवहरूको डिएनए परीक्षण छिटोभन्दा छिटो हुनुपर्यो र पीडित परिवारलाई राहत दिनुपर्यो भन्ने कुरा नै मुख्य रूपमा रहेको छ । आज पनि पाँच हजार नागरिक मिसिङ हुनुभएको छ । उहाँहरूको अवस्था पनि छिटो तय गरेर यसमा कुनै कानूनहरु अवरोध छन् भने कानून बनाएर भए पनि डिक्लेयर गर्ने कुरामा परिवारको सहमतिमा सहजीकरण गर्ने कुरा भएको छ ।’ भदौ १० मा आएको रसुवाको भोटेकोशीमा आएको बाढीपछि स्थगित गरिएका पार्टी गतिविधिहरू समेत आजैदेखि पुनः सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको उनले बताए ।