संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

शनिबार, असोज ३, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको बताए । उनले भने, ‘यो संविधानले नेपाली जनतासँग विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य तथा विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाज निर्माण गर्ने बाचा गरेको छ ।’ बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी शासनलाई सरकारका लागि केवल सर्तका रूपमा नभई राष्ट्रिय जीवनका आधारका रूपमा लिनुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिए । ‘संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र क्रियाशील भएन भने त्यो एउटा कागज मात्र बन्नेछ,’ उनले भने । प्रधानमन्त्री शाहले राजनीतिक व्यवस्था परिवर्तन तथा सुशासनको माग गर्दै भएका आन्दोलनमा ज्यान गुमाएका ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले हालै भएको ‘जेन्जी आन्दोलन’मा ज्यान गुमाएका युवाप्रति पनि श्रद्धाञ्जली अर्पण गरे । यसैगरी, हालैको भोटेकोसी बाढीमा परी मृत्यु भएका स्वदेशी तथा विदेशी नागरिकप्रति समेत प्रधानमन्त्री शाहले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  १०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार