कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला

'विपत्तिप्रति कांग्रेस संवेदनशील हुन सकेन'
बिहीबार, असोज १, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्टि जनाउँदै कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको विपत्तिप्रति कांग्रेस संवेदनशील हुन नसकेको भन्दै पार्टीको राष्ट्रिय दायित्वमाथि समेत प्रश्न उठाएका छन् । कोइरालाले बिहीबार विज्ञप्ति जारी गर्दै आफूलाई कांग्रेस भन्ने र कांग्रेस हुनुमा गौरव गर्नेहरू मानसिक रूपमा कमजोर र निरीह हुन नहुने उल्लेख गरेका छन् ।   उनले कांग्रेसले विरासतमा पाएको राजनीतिक पहिचान अहिले कमजोर बनेको भन्दै पार्टी विभाजित र गन्तव्यविहीनजस्तो भएको टिप्पणी गरेका छन् । ‘हामीले विरासतमा पाएको कांग्रेस क्यानभास चमकदार मात्र थिएन, अजेय पनि थियो। दुःखका साथ भन्नुपर्छ, आज हामी न अजेय छौँ, न विजय नै छौँ। हामी विभाजित, विघटनकारी र समुद्रमा गन्तव्य हराएको माझीजस्तै भएका छौँ,’ उनले भनेका छन् । विपत्तिका कारण अभाव र वञ्चनामा परेका तथा ज्यान गुमाएका नागरिकप्रति कांग्रेस संवेदनशील हुनुपर्ने उनको भनाइ छ । रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो क्षति भएपछि कांग्रेसले राजनीतिक विवादभन्दा माथि उठेर पीडितको पक्षमा उभिनुपर्ने धारणा उनले राखेका छन् ।  ‘नेपाली जनता रोइरहेका छन्, सर्वसाधारणहरू चाडपर्वको मुखमा परिवारका सदस्य र आफन्त गुमाएर चेतनाशून्य भएर बसेका छन्। उनीहरूको दर्द र पीडा किन हामी बुझ्न सकिरहेका छैनौँ?’ कोइरालाले प्रश्न गरेका छन् । उनले पार्टीभित्रको विवाद समाधान गर्न कानुनी तथा विधानका प्रावधानलाई मात्र आधार बनाएर मानवीय संवेदनालाई बेवास्ता गर्न नहुने बताएका छन् । सहमति, सहकार्य र एकताका माध्यमबाट पीडित नागरिकको घाउमा मल्हम लगाउने काममा कांग्रेस अग्रसर हुनुपर्ने उनको भनाइ छ । कोइरालाले कांग्रेस आफ्नो राष्ट्रिय दायित्वबाट विमुख हुँदै गए भावी पुस्तालाई पार्टीसँग जोड्न कठिन हुनेसमेत बताएका छन् । आफू कांग्रेसभित्रको विभाजनबाट खुसी हुन नसक्ने उल्लेख गर्दै उनले कसको पक्ष सही र कसको गलत भनेर वकालत गर्नेभन्दा पार्टीलाई एकताबद्ध बनाउने प्रयास आवश्यक रहेको बताएका छन् । ‘म कांग्रेस विभाजनबाट रोमाञ्चित हुनै सक्दिनँ। म को ठीक, को बेठीक भनेर वकालत कसरी गर्न सक्छु ? कांग्रेस हुँ भन्ने तर आफ्नै साथीभाइ माथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महलमाथि म बस्न सक्दिनँ,’ उनले भनेका छन् ।  उनले कांग्रेसमा कोही हार्ने र कोही जित्ने तथा त्यसलाई नै विजयी कांग्रेसका रूपमा उत्सव मनाउने संस्कार आफूले स्वीकार गर्न नसक्ने बताएका छन्। कांग्रेसको संस्कार र संस्कृति सहमति, एकता र लोकतान्त्रिक अभ्यासमा आधारित हुनुपर्ने उनको धारणा छ । विश्व राजनीतिमा भइरहेको परिवर्तनको प्रभाव नेपालमा समेत परिरहेको उल्लेख गर्दै कोइरालाले कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई स्मरण गरेका छन्। उनले देशको अस्मिता र लोकतन्त्रका लागि संघर्ष गरेका बीपीको आदर्शलाई सम्झेर अहिलेको अवस्थामा कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन् । उनले भनेका छन्,‘मलाई थाहा छ मध्यममार्ग कठिन मार्ग हो। मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो । यही मार्ग कांग्रेसको मार्ग हो र यही मार्ग कांग्रेसको जीवन दर्शन हो ।’ डा.कोइरालाले आफू कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्न चाहने कांग्रेस कार्यकर्ता भएको उल्लेख गर्दै पार्टी एकताका लागि आफू निरन्तर लागिरहने बताएका छन् । उनले आफू कसैप्रति आरोप–प्रत्यारोप गर्न नचाहेको स्पष्ट पार्दै कांग्रेसको वर्तमान समस्या सबैको एकताबद्ध प्रयासबाट समाधान गर्न सकिने बताएका छन् । डा.कोइरालाले गाउँ, टोलदेखि केन्द्र हुँदै विदेशमा रहेका कांग्रेसका नेता–कार्यकर्तालाई पार्टीलाई एकताबद्ध राख्ने अभियानमा दृढताका साथ जुट्न आग्रह गरेका छन् । उनले कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई अलग–अलग रूपमा बुझ्न नसकिने बताएका छन् । ‘कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई म फरक रूपमा बुझ्न सक्दिनँ। म यस्तै र यिनै संवाद लिएर कांग्रेस एकतामा जुटिरहने छु, तपाईँहरूसँग भेट्न गाउँघर आइरहने छु,’ उनले भनेका छन् । कांग्रेसभित्र पार्टी एकता र महाधिवेशनको प्रक्रियालाई लिएर विवाद चलिरहेका बेला कोइरालाले एकीकृत महाधिवेशन नभएसम्म कुनै पनि पक्षको महाधिवेशनमा सहभागी नहुने र पार्टी एकताका लागि देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  १७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार