सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । नेपाली काँग्रेसले पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा रहेका सबैलाई पार्टीको वर्तमान केन्द्रीय समितिमा सहभागी गराउने निर्णय गरेको छ । आइतबार बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकले देउवा नेतृत्वको पूर्वसमितिमा रहेका तर विशेष महाधिवेशनपछि गठित नयाँ केन्द्रीय समितिमा नसमेटिएका नेताहरूलाई केन्द्रीय सदस्यका रूपमा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको हो । सहभागी हुनेलाई केन्द्रीय सदस्यको जिम्मेवारी बैठकपछि एक पदाधिकारीले पूर्वसमितिका सदस्यलाई वर्तमान केन्द्रीय समितिमा रहेर आगामी महाधिवेशनको तयारीमा सहभागी हुने बाटो खुला गरिएको जानकारी दिएका छन् । ‘सबैलाई केन्द्रीय समितिमा बस्ने गरी आह्वान हुन्छ । केन्द्रीय समितिमा आएर महाधिवेशनको आयोजक समितिकै रूपमा रहनुहुन्छ,’ ती पदाधिकारीले भनेका छन्, ‘महाधिवेशनमा सहभागी हुन अपिल गर्दछौँ । केन्द्रीय समितिमा बस्न चाहनेहरू आउनुहुन्छ, नचाहनेहरू आउनुहुन्न होला ।’ बैठकको निर्णयअनुसार पूर्वसमितिमा रहेका व्यक्तिलाई वर्तमान केन्द्रीय समितिमा आउन आह्वान गरिनेछ । यद्यपि, समितिमा सहभागी हुने वा नहुने निर्णय सम्बन्धित व्यक्तिमै निर्भर रहनेछ ।
महाधिवेशन आयोजक समितिका रूपमा रहने केन्द्रीय समितिमा सहभागी हुने पूर्वसमितिका सदस्यहरू १५औँ महाधिवेशन सम्पन्न गर्ने आयोजक समितिको भूमिकामा रहने काँग्रेसले जनाएको छ । विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको आन्तरिक असमझदारी कम गर्दै आगामी महाधिवेशनमा सबै पक्षलाई सहभागी गराउने प्रयास स्वरूप उक्त निर्णय गरिएको हो ।
असोज १६ देखि १९ सम्म महाधिवेशन काँग्रेसले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने मिति निर्धारण गरेको छ । महाधिवेशन काठमाडौँमा गर्ने गरी पार्टीले कार्यतालिका पारित गरेको छ । यसअघि असोज ३ र ४ गते वडा तहको अधिवेशन गर्ने मिति तोकिएको छ । केन्द्रीय समितिमा सहभागी हुने पूर्वसमितिका सदस्यले महाधिवेशनको तयारी तथा व्यवस्थापनमा जिम्मेवारी निर्वाह गर्नेछन् ।
पुससम्म नवीकरण भएका सदस्यलाई मान्यता कार्यसम्पादन समितिको बैठकले गत पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई मान्यता दिने निर्णयसमेत गरेको छ । उक्त निर्णयसँगै निर्धारित अवधिभित्र सदस्यता नवीकरण गरेका क्रियाशील सदस्यले पार्टीको आगामी अधिवेशन तथा महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउने भएका छन् ।