धम्क्याएको भरमा निर्वाचन आयोगले हामीलाई हरायो : पूर्णबहादुर खड्का

शुक्रबार, साउन २९, २०८३

काठमाडौं । नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले धम्की आएका कारण निर्वाचन आयोगले आफूहरूलाई हराएको आरोप लगाएका छन् ।  काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगले हराएको जिकिर गरेका छन् । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वका गठन भएको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । 
आयोगले अवैधानिक समितिलाई मान्यता दिएको खड्काको भनाइ छ। निर्वाचन आयोगले पुराना नजिर र प्रक्रियालाई मिचेर थापा नेतृत्वकालाई मान्यता दिएको जिकिर गर्दै खड्काले भने, ‘धम्क्याएको भरमा, तर्साएको भरमा निर्वाचन आयोगले हामीलाई हरायो।’
उनले अब सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास जनाए। यसअघिको फैसला त्रुटीपूर्ण भएकाले सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएको उनको भनाइ थियो ।  अझै पनि आफूहरू एकताको लागि प्रयासरत रहेको उनले बताए। विशेष महाधिवेशनको माग उठेदेखि अहिलेसम्म एकताका लागि थापा र विश्वप्रकाश शर्मासँग पटकपटक सहमति गर्दा पनि धोका भएको उनको भनाइ थियो ।  थापा र शर्माले आफूलाई दुई पटक धोका दिएको उनले सुनाए । पहिलो पटक विशेष महाधिवशेन नगर्ने सहमतिमा १५औं महाधिवेशनको कार्यतालिका ल्याइएको बताए । आमनिर्वाचन फागुनमा भएमा वैशाखमा पार्टी महाविधेशन गर्ने र निर्वाचन सरेमा फागुनै महाधिवेशन गर्ने थापा र शर्माले सहमति गरेको उनले उल्लेख गरे । तर, सहमतिविपरीत विशेष महाविधेशन गरिएको उनले बताए ।  त्यस्तै, गत वैशाखमा पनि थापा आफै आएर सहमतिका लागि प्रस्ताव गरेको बताए । पछिल्लो तीन महिनामा लगातार भएका वार्तामा विशेष महाधिवेशनबाट आएको समिति र शेरबहादुर देउवा नेतृत्वको समितिमा मिलाएर जाने सहमति भएको उनले सुनाए ।  तर, अहिले आएर त्यो सहमति पनि तोडेको खड्काले सुनाए। ‘मलाई आएर गगन थापाजीले भन्नसक्नु भएको छैन, तर डा। शेखर कोइरालासँग खड्का दाइसँग भएको सहमति कार्यान्वयन गर्न नसक्ने बताएका छन् ।’ थापा पक्षले पार्टी एकता नचाहेको उनको आरोप छ । ‘विशेष महाधिवेशनको समिति नमिलाउँदासम्म विवाद यथावत रहन्छ,’ उनले भने, ‘तीन महिना गयो, नाटक मञ्चन भइरहेको छ, सानेपामा ।’

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  २०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार