सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाहले दिए राजीनामा, नयाँ सरकार गठनको आह्वान

बिहीबार, साउन २८, २०८३

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।  मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत भएपछि संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाइएको हो ।
प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री शाहले पदबाट दिएको लिखित राजीनामा साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ। शाहले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम राजीनामा दिएका हुन्।
प्रदेश प्रमुखले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दाबी आह्वान गरेका हुन् ।
मुख्यमन्त्रीमा दाबी गर्ने प्रदेशसभा सदस्यले आवश्यक बहुमत पुष्टि हुने गरी सम्बन्धित दलहरूको समर्थन पेस गर्नुपर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
नयाँ सरकारको नेतृत्वका लागि दाबी पेस गर्न साउन २९ गते शुक्रबार बिहान ११ बजेसम्मको समय दिइएको छ। निर्धारित समयभित्र बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुपर्नेछ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  २१:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार