सरकारले एनसेल सेयर कारोबारसम्बन्धी टंकमणि शर्मा नेतृत्वको प्रतिवेदन सार्वजनिक गर्ने

मंगलबार, साउन २६, २०८३

काठमाडौं । सरकारले एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिनका लागि गठित समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित अध्ययन तथा छानबिन समितिले तयार पारेको ‘एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयसँगै उक्त प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रिया अघि बढ्ने भएको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय 
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएका निर्णयमध्ये सुनसरी र सिरहामा भएका घटनाका क्रममा ज्यान गुमाएका व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णयसमेत रहेको छ ।
१. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर मा पूर्ण रूपमा छुट प्रदान गर्ने ।

२. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४ जना (सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादव) लाई शहीद घोषणा गर्ने।

३. पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने ।

४.वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेती (बारा) लाई नियुक्ति गर्ने ।

५. पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने ।
 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार