सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको १५औँ महाधिवेशन सबै पक्षको सहभागिता, स्वामित्व र सम्मानसहित निष्पक्ष तथा पारदर्शी ढंगले हुनुपर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेसको राष्ट्रिय भेलाबारे छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै नेता महतले पार्टीको विशेष महाधिवेशन अस्थायी व्यवस्था भएकाले अब हुने १५औँ महाधिवेशनमा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताए । उनले निर्वाचन आयोगले आफूहरूको पक्षको कुरा नसुनी अर्को पक्षलाई मान्यता दिएको र त्यसपछि उत्पन्न परिस्थितिका कारण पार्टी निकै अप्ठ्यारो अवस्थामा पुगेको बताए । अदालतबाट समेत आम निर्वाचनमा उम्मेदवारी तथा टिकट वितरणसम्बन्धी विषय टुंग्याउनुपर्ने अवस्था आएकाले पार्टीसँग पर्याप्त समय नभएको उनको भनाइ थियो । उनले भने, ‘हाम्रो पक्षको कुरा नसुनी निर्वाचन आयोगले अर्को पक्षलाई मान्यता दियो । समयको पावन्दीका बिचमा अदालतले पनि आम निर्वाचनमा टिकट वितरणमा समस्या नहोस भनेर निर्णय गरिदियो । हामीसँग समय थिएन । त्यस्तो अप्ठ्यारो स्थितिमा नेतृत्वले जस्तो निर्णय गर्यो त्यसैलाई स्वीकारेर निर्वाचनमा गयौं । समय पनि छैन, विकल्प सोच्ने परस्थिति पनि थिएन । गत भदौको २३–२४ को घटनाले प्रधानमन्त्री बन्छु भन्ने व्यक्ति नै हार्नुपर्यो ।’ महतले १५औँ महाधिवेशन निष्पक्ष बनाउन सक्रिय सदस्यता, प्रतिनिधि छनोट, निर्वाचन प्रक्रिया, विधान र अनुशासनसम्बन्धी विषयमा स्पष्ट व्यवस्था र निष्पक्षता आवश्यक रहेको बताए । विशेष महाधिवेशनका विषयमा आफूहरूले उठाएको विषय अस्थायी व्यवस्थाका रूपमा विशेष महाधिवेशन सम्पन्न गरी अब नियमित १५औँ महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्नुपर्ने रहेको उनले स्पष्ट पारे । यसैबीच, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टीभित्रका विवाद सहमतिका आधारमा समाधान गर्दै १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए । राष्ट्रिय भेलाबारे आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेसमा विगतदेखि नै सहमतिका आधारमा समस्या समाधान गर्दै महाधिवेशन गर्ने अभ्यास रहेकाले त्यसैलाई निरन्तरता दिनुपर्ने धारणा राखे । सिंहले नियमित महाधिवेशन पक्षधरले आयोजना गर्न लागेको भेला पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने उद्देश्यमा केन्द्रित हुनुपर्ने बताए । उनले विशेष महाधिवेशनबाट आएको कार्यसमितिले पार्टीभित्रको विवाद समाधानका लागि पहल गर्नुपर्ने धारणा राखे। कार्यक्रममा नेता भीमसेनदास प्रधानले पार्टी एकता नभए मुलुक दुर्घटनामा पर्ने बताए । कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयलाई लिएर विवाद देखिँदै आएको अवस्थामा उपस्थित नेताहरुले पार्टी एकता कायम गर्दै निष्पक्ष र सबै पक्षको सहभागितामा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।