सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम हुने भए आफू महामन्त्री पद छाड्न तयार रहेको बताएका छन् । शनिबार काठमाडौं कांग्रेसको महानगरपालिका वडा नम्बर २६ कार्यसमिति सम्मान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले पार्टीको सभापति संस्था भएकाले सभापतिभन्दा माथि कोही हुन नसक्ने बताए । उनले पार्टीका वरिष्ठ नेताहरूको योगदान आफूभन्दा धेरै रहेको भन्दै उनीहरूलाई सम्मान गर्नुपर्ने धारणा राखे । ‘सभापति भनेको संस्था हो, त्यसैले संस्थाभन्दा माथि कोही हुँदैन । केही नेताहरू स्वयं वरिष्ठ नेता हुनुहुन्छ, त्यसैले वरिष्ठ मान्न नपर्ने केही कारण छैन । उहाँहरूको योगदान मेरोभन्दा धेरै छ । सभापतिभन्दा तल हामी सबैभन्दा माथि उहाँहरूलाई राख्न हामी तयार छौं । यो पार्टी मिल्छ भने म महामन्त्री अहिले छाड्न तयार छु,’ पौडेलले भने । उनले पछिल्लो राजनीतिक परिस्थितिप्रति टिप्पणी गर्दै सिंहदरबार जलाउनेहरूकै हातमा अहिले सत्ता पुगेको बताए । आन्दोलन र हिंसाको माध्यमबाट सत्तामा पुग्ने प्रवृत्तिले मुलुकलाई थप संकटतर्फ लैजाने उनको भनाइ थियो । ‘आज त सिंहदरबार जलाउनेहरूको हातमा सत्ता छ । अब जलाउँदै हिँड्ने ? अस्ति झन्डै तराईबाट नै त्यस्तै अवस्था आइसकेको थियो । आगो लगाएपछि त कसैले निभाउन नपर्ने रहेछ । देशमा आगो लगाउन त सिकाइएको छ नि,’ उनले भने । पौडेलले विगतमा कसले आगो लगायो भन्ने प्रश्न गर्दै आगजनी र हिंसाबाट सत्तामा पुगेकाहरूले अहिले त्यसलाई नियन्त्रण गर्न सक्ने अवस्था छ कि छैन भन्ने प्रश्न गरे । ‘हिजो को–कसले आगो लगाउनुभयो, आगो लगाएर सत्तामा पुग्नुभयो । अब निभाउन सक्नुहुन्छ, कसैलाई केही भन्न सक्नुहुन्छ ?’ उनले प्रश्न गरे । उनले अतिवादलाई परास्त गर्ने बाटो निर्वाचन नै भएको उल्लेख गर्दै सिंहदरबारमा आगजनी नभएको भए पनि निर्वाचन हुने र निर्वाचनमार्फत जनताले पुराना दललाई दण्ड दिने सम्भावना रहेको बताए । उनले देशको अवस्था झनै बिग्रिँदै गएको भन्दै परिवर्तनको नाममा पुरानै गल्ती दोहोर्याउन नहुने बताए । महामन्त्री पौडेलले नेपाली कांग्रेस देशमा सबैभन्दा धेरै सदस्य भएको र ती सदस्यलाई डिजिटल माध्यमबाट जोड्ने पार्टीका रूपमा विकास भइरहेको बताए । उनका अनुसार कांग्रेसले अब पार्टीभित्र प्राथमिक निर्वाचन (प्राइमरी) को अभ्यास अघि बढाउने तयारी गरेको छ । वडा अध्यक्षको उम्मेदवार चयनमा सम्बन्धित वडाका क्रियाशील सदस्यले मतदान गर्न पाउने र डिजिटल माध्यमबाट समेत मतदान गर्न सकिने उनले बताए ।