सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले जनताको मन र उनीहरूका समस्या बुझ्न नसक्दा निर्वाचनमा पार्टीका आन्तरिक रिपोर्टिङहरू गलत सावित भएको बताएका छन् । शनिबार पुष्पलाल स्मृति दिवसका अवसरमा ‘मिसन पार्टी जागरण–२०८३’ अन्तर्गत ‘संगठन निर्माणमा देखिएका समस्याहरू : संगठन सुदृढीकरण, प्रविधिको प्रयोग र आगामी कार्ययोजना’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले निर्वाचनको नतिजाले पार्टीले जनताको मन पढ्न र जनताका कुरा बुझ्न छोडिसकेको देखाएको बताए । उनले भने, ‘चुनावको नतिजा हेर्दा थाहा भयो, जनताको मन पढ्न हामीले छाडिसकेका रहेछौँ । जनताको कुरा बुझ्न छाडिसकेका रहेछौँ । जनताको मन पढ्न सकेको भए, कुरा बुझ्न सकेको भए हाम्रा रिपोर्टिङहरू असफल हुने थिएनन् । जनताको मन पढ्न नसकेको परिणाम के भयो भने हाम्रा रिपोर्टिङहरू गलत साबित भए ।’ पोखरेलले जनताको मन बुझ्न सक्नेगरी पार्टीको संरचना र सञ्जाल निर्माण गर्नुपर्ने बताए । पार्टीको अभियानकै क्रममा यसलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ । जनताको मन जित्नका लागि सम्पर्क र समन्वय विस्तार गर्दै जनताको नजिक पुग्नुपर्ने उनले बताए । जनताको नजिक पुगेपछि मात्रै उनीहरूका समस्या, पीरमर्का र सरोकार पहिचान गरी समाधानका लागि पहल गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘जनताको मन जितिन्छ कसरी त्यसमा काम गर्नुपर्ने छ । सम्पर्क समन्वयले विस्तारै जनताको नजिक पुगिन्छ होला । सम्पर्क समन्वयले नजिकै आउनेबित्तिकै मन त जितिँदैन होला । त्यसका लागि परेको पीरमर्का, समस्या र सरोकारहरूलाई पहिचान गर्ने र त्यसको समाधानका लागि पहलकदमी लिने, जनसरोकारका मुद्दाहरू पहिचान गर्ने र त्यसलाई समाधानका लागि अग्रसरता लिने कुराबाट जनसम्बन्धलाई बलियो र फराकिलो बनाउन सकिन्छ ।’ महासचिव पोखरेलले वर्तमान परिस्थिति र समाजको सापेक्षतामा पार्टीका नीतिहरूलाई अद्यावधिक गर्नुपर्नेमा जोड दिए । पार्टीका नीतिलाई आजको समाजले बुझ्ने भाषामा प्रस्तुत गर्न सके मात्रै जनताले पार्टीका कुरा सुन्न थाल्ने उनले बताए । परम्परागत शैलीमा माक्र्सवादलाई बोकेर अघि बढ्न नसकिने भन्दै उनले माक्र्सवादको सिर्जनात्मक प्रयोगको मान्यता अघि बढाइएको बताए । जनताको बदलिँदो चाहना र समाजको अवस्थाअनुसार पार्टीले आफ्ना विचार र नीतिलाई परिमार्जन गर्नुपर्ने उनको भनाइ थियो ।