काँग्रेस विभाजनको औपचारिक बाटोमा

असन्तुष्ट समूहले शशांकको नेतृत्वमा गठन गर्‍यो राष्ट्रिय भेला मूल आयोजक समिति
शनिबार, साउन १६, २०८३

काठमाडौं । नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूपमा अघि बढाउँदै राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा डा. शशांक कोइरालालाई चयन गरेको छ । कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेला आयोजक समितिको संयोजक घोषणा गर्दै समितिमा ५५१ सदस्य रहने जानकारी दिए । उनका अनुसार राष्ट्रिय भेला सफल बनाउन १६ वटा मूल समिति गठन गरिएको छ। गठित समितिमा राजनीतिक प्रस्ताव तयारी समिति, समसामयिक राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति, आर्थिक नीति तयारी समिति, प्रचारप्रसार समिति, संस्कृति तथा स्वास्थ्य समिति, आर्थिक व्यवस्थापन समिति, आवास तथा भोजन व्यवस्थापन समिति, मञ्च व्यवस्थापन समिति, स्वयंसेवक परिचालन समिति, सहभागी व्यवस्थापन समिति, शान्ति सुरक्षा तथा प्रशासन समन्वय समिति र सचिवालय व्यवस्थापन समिति लगायत रहेका छन् । विश्वकर्माले राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको र गठित समितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार काम अघि बढाउने बताए । असन्तुष्ट समूहले आगामी साउन २९ मा राष्ट्रिय भेला आयोजना गरेको छ । पूर्वमहामन्त्री कोइरालालाई भेलाको मूल आयोजक समिति संयोजक बनाएको छ । बीपी कोइरालाका पुत्र शशांक देउवा पहिलो कार्यकाल सभापति बेलाका महामन्त्री हुन् । राष्ट्रिय भेलाको अवधिसम्म पार्टी एकताका लागि सहमति कायम नभए शशांककै नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता गर्ने तयारीसमेत असन्तुष्ठ समूहले गरेको छ ।  चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत असन्तुष्ट समूहले कोइरालाको नेतृत्वमा ५२१ सदस्यीय मूल आयोजक समिति घोषणा गरेको छ । समितिअन्तर्गत राजनीतिक प्रस्ताव समिति, समसामयिक राजनीतिक प्रस्ताव समिति, सांगठनिक तयारी समिति, विधान संशोधन मस्यौदा समिति, आर्थिक नीति तयारी समिति, प्रचार–प्रसार समितिलगायत १६ वटा विभिन्न समिति पनि बनाइएको छ । विधान, राजनीतिक प्रस्ताव, संगठनात्मक ढाँचा तथा नीतिगत दस्तावेज तयार गर्न छुट्टाछुट्टै समिति गठन गरिएकाले असन्तुष्ट समूह राष्ट्रिय भेलासम्म पनि सहमति हुन नसके नयाँ पार्टी गठनको तयारीमा जुटेको देखिएको छ । ‘हामीले राष्ट्रिय भेला पार्टीलाई नयाँ कार्यदिशा दिनका लागि आयोजना गरिएको भनेका छौं। त्यतिन्जेलसम्म कुनै सकारात्मक परिवर्तन वा सहमति भएन भने नयाँ स्वरूपमा अघि बढ्छौं,’ नेता मीन विश्वकर्माले भने, 'हलले अस्वीकार गर्‍यो भने अर्को हुने हो, नभए शशांक कोइराला नै हो ।'  पत्रकार सम्मेलनमा पूर्वमहामन्त्री शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायत कांग्रेसका पूर्वपदाधिकारी तथा नेताहरूको उपस्थिति थियो । यस अभियानमा नेता शेखर कोइरालाको पनि समर्थन रहेको शशांकले दाबी गरे । ‘शेखर दाइसँग मेरो पटक–पटक कुराकानी र भेटघाट भइरहेको छ। उहाँ आजको पत्रकार सम्मेलनमा पनि आउने कुरा थियो। तर विराटनगरमा भएकाले आउन सक्नुभएन। उहाँले पत्रकारसँग मेरो पनि समर्थन छ भनेर भनिदिनुभएको छ,’ शशांकले भने । संस्थापन पक्षसँग सहमतिको प्रयास प्रभावकारी रूपमा अघि नबढेको भन्दै इतर पक्षका नेताहरू नयाँ पार्टी गठनको योजनाअनुसार नै अघि बढिरहेको एक नेताले बताए। उनका अनुसार पार्टी सभापति गगन थापा नेतृत्वको संस्थापन पक्ष एकताका लागि पर्याप्त लचक नभए नयाँ पार्टी गठन हुनेमा कुनै द्विविधा छैन। ‘राष्ट्रिय भेलामा देशभरबाट प्रतिनिधि र नेता–कार्यकर्ता सहभागी हुन्छन्। सहमति नभए त्यहीँबाट नयाँ पार्टी घोषणा हुनेछ,’ ती नेताले भने, ‘त्यसका लागि पार्टीको विचार, दृष्टिकोण, संगठनात्मक स्वरूप तथा विधानको प्रारम्भिक मस्यौदा तयार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।’

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  १९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार