राजसंस्था अपरिहार्य छ, राष्ट्र जोगाउन संवैधानिक राजसंस्था चाहिन्छ : मनिषा कोइराला

शनिबार, साउन १६, २०८३

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताएकी छन् । शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान–२०८३’ को सामूहिक हस्ताक्षर कार्यक्रममा बोल्दै कोइरालाले आफूले संवैधानिक राजसंस्थाको अवधारणा बीपी कोइरालाबाट सिकेको बताइन् । उनले भनिन्, ‘हामीलाई संवैधानिक राजसंस्था चाहिन्छ भनेर बुझेको, बोलेको मैले बीपी बाबाट नै सिकेको हो । सुरु–सुरुमा उहाँका विचार समाजवाद वा कम्युनिज्मतर्फ झुकेका थिए । तर समयसँगै मुलुकको परिस्थिति, भूगोल र देशको भविष्यलाई मूल्याङ्कन गर्दै उहाँ यो निष्कर्षमा पुग्नुभयो कि नेपालका लागि राजसंस्था अत्यन्त जरुरी छ ।’ उनका अनुसार बीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको नीतिले राजसंस्था र प्रजातन्त्रलाई परस्पर विरोधी नभई लोकतन्त्रको प्रतीकका रूपमा व्याख्या गरेको थियो ।  ‘उहाँले राजा र मेरो घाँटी एउटै दरबारको मियाँमा छ भन्नुभएको थियो । राजसंस्था लोकतन्त्रको प्रतीक हो। त्यो कुरा त्यतिबेला पनि उत्तिकै महत्त्वपूर्ण थियो, अहिले झन् बढी महत्त्वपूर्ण भएको छ,’ उनले भनिन् । कोइरालाले गणतन्त्र र बहुदलीय व्यवस्थापछि नेपाली जनताले देखेको समृद्ध र बलियो राष्ट्रको सपना पूरा हुन नसकेको टिप्पणी गरिन् । ‘हामीले राष्ट्रिय तत्वलाई साइडमा राखेर विदेशी अवधारणा पछ्याउने प्रयास ग¥यौं। त्यसले देशलाई सहयोग गरेन,’ उनले भनिन् । उनले नेपालको एकीकरण गर्ने वंश र संस्थालाई कमजोर बनाउँदा राष्ट्रियता पनि कमजोर हुने दाबी गरिन् । ‘जसको पुर्खाले यो देश बनायो, त्यस्तो संस्थालाई साइडमा राख्दा राष्ट्रियता कमजोर हुँदै जान्छ। हाम्रो जस्तो भूगोल भएको देशका लागि यो निकै डरलाग्दो अवस्था हो। देश सधैं स्वतन्त्र, सार्वभौम र सुरक्षित रहोस् भन्ने हो भने राजसंस्था अपरिहार्य छ,’ उनले भनिन्।

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  १९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार