मधेशवादी नेतासँग प्रधानमन्त्रीको प्रष्टीकरण, ‘म संघीयता विरोधी होइन’

‘हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा छैनौँ’
शुक्रबार, साउन १५, २०८३

काठमाडौं । मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि उठाएका छन् । प्रधानमन्त्रीलाई भेटेर बाहिरिने क्रममा चितवन महाधिवेशनले सङ्घीयता विरोधी प्रस्ताव पारित गरेको विषय आफूले उठाएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए । आफूले सङ्घीयताको विषयमा कुरा उठाएपछि प्रधानमन्त्रीले आफूलाई सङ्घीयताविरोधी सपनामा पनि नसोच्न आग्रह गरेको महतोले सञ्चारकर्मीलाई सुनाएका छन् । प्रधानमन्त्रीको जवाफ थियो, ‘मलाई सङ्घीयता विरोधी सपनामा पनि नसोच्दिनुहोला । सङ्घीयतालाई बलियो बनाउने हो । महाधिवेशनबाट गलत सन्देश गएको छ, त्यसलाई सुधार्नुपर्छ । त्यसैले सङ्घीयता विरोधी हाम्रो पार्टी पनि होइन, म स्वयं त सङ्घीयता विरोधी हुने कुरै भएन।’ उनले आफू सङ्घीयतालाई बलियो बनाउने पक्षमा रहेको जवाफ दिएको बताए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने, ‘सङ्घीयतालाई बलियो बनाउनको लागि कहाँ कहाँ कमी हो त्यो गरिन्छ। प्राप्त अधिकार पनि प्रदेशहरूले प्रयोग गर्नुपर्छ। म मेयर हुँदा सबै अधिकार प्रयोग गरेको गरेकै हुँ ।’

‘हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा छैनौँ’
प्रधानमन्त्री बालेनले हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा नभएको पनि प्रष्टिकरण दिएका छन् ।  मधेशवादी दलका नेताहरू छलफल गर्दै उनले हिन्दू राष्ट्र आएपछि राजा जोडिएर आउने भएकाले आफू त्यसको पक्षमा नभएको प्रष्टिकरण दिएका हुन् । ‘हिन्दू राष्ट्र बनाउने तिर छैनौँ, तराई–मधेसमा हिन्दू राष्ट्रका लागि भएको आन्दोलनको अर्को मर्म छ। पहाडतिरको अर्को मर्म छ,’ बालेनको भनाइ उद्धृत गर्दै जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माले भने, ‘राजा ल्याउने पक्षमा छैनौँ। त्यसले संघीयतालाई कमजोर गर्छ।’ नेताहरूले बालेनलाई हिन्दू राष्ट्रका विषयमा प्रश्न गरेका थिए। जवाफमा बालेनले भनेका थिए, ‘हिन्दू राष्ट्र आएपछि राजा जोडिएर आउँछ अहिले त्यसो गर्दा ठिक हुँदैन। संघीयताको कमिटमेन्ट पनि म पूरा गरेर जान्छु।’ जसपा नेपाल महासचिव शर्माले हिन्दू राष्ट्र र राजाको बारेमा प्रधानमन्त्री बालेनको प्रस्ट धारणा देखिएको बताए । बैठकमा बालेनले आफू र आफ्नो पार्टी रास्वपा संघीयताका पक्षमा प्रतिबद्ध रहेको धारणा राखेको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताए । साथै बालेनले छानबिन प्रतिवेदनमा दोषी देखिएकाहरूलाई कारबाही गर्ने र पीडितसँग भएका सम्झौताहरू कार्यान्वयन हुनेमा ढुक्क हुन भनेका थिए । ‘केही तत्वहरूले साम्प्रदायिक दंगा गराएर स्वार्थ सिद्ध गर्न खोजिराखेका छन्, त्यसविरुद्ध तपाईं हामी सबै मिलेर लड्नुपर्नेछ,’ बालेनको भनाइ उद्धृत गर्दै महतोले भने, ‘तराई–मधेसमा देखिएको साम्प्रदायिक दंगालाई साम्य पार्न सरकार लागिरहेको छ। तपाईंहरूले पनि साथ दिनुपर्‍यो। आ(आफ्नो ठाउँबाट सबै लागौँ ।’ दलका नेताहरूले गृहमन्त्रीले सुनसरीमा गरेको सम्झौता कार्यान्वयन गर्न ध्यानाषर्कषण गराएका थिए। ‘विगतका सरकारले सम्झौताहरू कार्यान्वयन गरेनन्, यो सरकारले त्यसो नगरोस्, तपाईंहरूलाई परिवर्तनका लागि सत्तामा पठाएका हुन्। सबै ठाउँमा परिवर्तन भएको महसुस हुने गरेर काम गर्नुहोला भनेर हामीले भन्यौँ,’ महतोले भने। प्रधानमन्त्रीले मधेशकेन्द्रित दलहरूसँग २ घण्टा छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री शाहले सम्बन्धित क्षेत्रका राजनीतिक दलका नेताहरूबाट शान्ति सुरक्षा व्यवस्थापन र समस्या समाधानका लागि सुझाव लिएको सहभागी नेताहरूले बताएका छन् । नेताहरूका अनुसार प्रधानमन्त्रीले मधेशमा स्थायित्व कायम गर्ने विषयलाई प्राथमिकतामा राख्दै आवश्यक पहलका लागि प्रतिबद्धता व्यक्त गरेका छन्  । बैठकमा सहभागी नेताहरूले पछिल्लो घटनाक्रमबाट उत्पन्न समस्या समाधानका लागि आफूहरूले विभिन्न सुझाव दिएको र सरकारको तर्फबाट विषयलाई गम्भीरतापूर्वक लिइएको महसुस भएको बताएका छन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री शाहले मधेश केन्द्रित दलका प्रतिनिधिसँग संवाद अघि बढाउनु सकारात्मक पहल भएको बताए। उनले तराईका केही जिल्लामा देखिएको अवस्थाबारे समाधानमुखी सुझाव प्रस्तुत गरिएको जानकारी दिए । त्यस्तै, नेता राजेन्द्र महतोले विगतमा मधेशसँग भएका सहमति तथा प्रतिबद्धताको कार्यान्वयनतर्फ पनि सरकारको ध्यानाकर्षण गराइएको बताए । उनले मधेशमा देखिएको समस्या समाधानका लागि सरकारी सक्रियता थप प्रभावकारी बनाउन आग्रह गरिएको उल्लेख गरे । साथै, सुनसरी घटनाको निष्पक्ष छानबिन गरी समयमै समाधान खोज्नुपर्ने विषय उठाइएको उनको भनाइ छ । छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  २०:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार