प्रधानमन्त्रीलाई काँग्रेस सभापति थापाको प्रश्न,  'ठालु भएर भाउ खाएर बस्ने हो ?’

बुधबार, साउन १३, २०८३

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमको सन्दर्भमा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीलाई सक्रिय र समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । बुधवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले सरकार केवल बल प्रयोग र सामाजिक सञ्जालको ‘स्ट्याटस’मा मात्र सीमित हुन नहुने बताएका हुन् । उनले प्रधानमन्त्री बालेन्द्र साहलाई भाउ खाने र ठालु भएर बस्न नहुने सुझाव दिए । सभापति थापाले प्रधानमन्त्रीले अहंकार त्यागेर सबै पक्षलाई समेट्नुपर्नेमा जोड दिए । सरकारलाई अभिभावक र नेतृत्वकर्ताको संज्ञा दिँदै थापाले नेतृत्वको मुख्य शक्ति नै सहकार्य र विश्वासको वातावरण निर्माण गर्नु रहेको उल्लेख गरे । उनले प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने, राष्ट्रपतिसँग परामर्श गर्ने तथा प्रदेश र स्थानीय सरकारहरूसँग निरन्तर संवाद गरी सरकारका प्रयासहरूबारे जानकारी गराउनुपर्ने सुझाव दिए। मधेसमा हुने कुनै पनि घटनामा राज्यले ‘अतिरिक्त बल’ प्रयोग गर्ने मानसिकता राख्नु दुस्खद् रहेको टिप्पणी गर्दै उनले यसलाई राज्य सञ्चालनको असफलताको निरन्तरताका रूपमा चित्रण गरे । घटनाको छानबिनका लागि संसद्मा आवाज उठाउने बताउँदै थापाले यो समय सरकारलाई अप्ठ्यारो पार्ने नभई जिम्मेवारीपूर्वक सहयोग गर्ने समय भएको स्पष्ट पारे ।  सभापति थापाले भने,  ‘माननीय सभापतिमार्फत सरकारसँग हाम्रो प्रश्न छ । यतिखेर सरकार कहाँ छ र के गर्दैछ रु सरकार केवल सुरक्षा बल वा सामाजिक सञ्जालमा सीमित नभई सबैलाई जोड्ने नेतृत्वकर्ता बन्नुपर्छ । प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाई राष्ट्रपतिसँग, प्रदेश तथा स्थानीय सरकारसँग संवाद गरी साझा पहलको वातावरण बनाउनुपर्छ । भूकम्प र कोभिडजस्ता राष्ट्रिय संकटमा सबै दल एकजुट भएका उदाहरण छन् । अहिले पनि सरकारलाई अप्ठ्यारो पार्ने होइन, सहकार्य गरेर समस्या समाधान गर्न चाहन्छौँ । घटनाको छानबिन आवश्यक छ, तर त्यसबारे उचित समयमा छलफल गरौँला । हाम्रो पार्टी सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सबै राजनीतिक दलसँग मिलेर काम गर्न प्रतिबद्ध छ । मैले अहिले माथि भनेँ यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने होरु यस्तो बेलामा पनि प्रधानमन्त्री ठालु हुने, ठालु भएर बस्ने हो ? यो बेलामा रिचआउट गर्नु पर्दैन ? यो बेलामा सबै सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन ? र सबैको भएर सबैलाई समेटेर लिएर जाने प्रयास गर्नु पर्दैन ? गर्नुपर्छ भन्ने हामी ठान्छौँ र प्रधानमन्त्रीले गर्नुहोस् भन्ने हाम्रो चाहना हाम्रो हाम्रो माग पनि छ ।’ सभापति थापाले नेपाली काँग्रेस सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न प्रतिबद्ध रहेको र यसका लागि अन्य राजनीतिक दलहरूसँग मिलेर भूमिका निर्वाह गर्ने बताए। 

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  ११:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार