सत्तारुढ दल रास्वपा सभापति रविको आह्वानमा सर्वदलीय बैठक सम्पन्न

सद्भाव र संयम अपनाउन संयुक्त विज्ञप्ति जारी गरिने 
बुधबार, साउन १३, २०८३

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव र संयम अपनाउन संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ ।  सुनसरीलगायत स्थानमा शान्ति कायम गर्न सबै दलले संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए ।  बैठकमा दलका नेताहरूले संवेदनशील विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले थप अन्योल सिर्जना भएको भन्दै सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका थिए ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सुनसरीलगायत क्षेत्रमा देखिएको तनावको अवस्थालाई सामान्य बनाउने विषयमा छलफल भएको जानकारी दिए ।  उनले भीड नियन्त्रण गर्न सरकार किन असफल भइरहेको विषयमा दलका नेताहरूले चासो प्रकट गरेको बताए । नेकपा संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुले वर्तमान सरकार संवेदनशील बन्न नसकेको बताए । संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।   विगतमा भूकम्प, बाढीपहिरोजस्ता विपद्का बेला वा संविधान निर्माणजस्ता जटिल प्रक्रियामा राजनीतिक दलहरूले साझा सहमति र राष्ट्रिय एकताको गतिलो उदाहरण प्रस्तुत गरेको स्मरण गराउँदै प्रचण्डले आज पनि त्यही राजनीतिक परिपक्वता र जिम्मेवारीको खाँचो रहेको औँल्याए। ‘तर राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार किन साझा समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन भन्ने गम्भीर प्रश्न उठेको छ,’ उनले भने ।  यसैगरी, कांग्रेस सभापति गगन थापाले सरकार केवल गोली, लाठी र स्टाटसमा मात्रै सीमित हुन नहुने बताए। उनले संकटमा सरकारको भूमिका प्रभावकारी नभएको बताए ।  शान्ति र सद्भाव कायम गर्न सामूहिक रूपमा अपिल गर्नुपर्नेमा उनले जोड दिए । सभापति थापाले जिल्ला स्तरमा समेत सर्वदलीय बैठक गरेर संयुक्त आह्वान गर्नुपर्ने प्रस्ताव राखेको बताए । ‘सरकार के गर्दैछ ? कहाँ छ ? सरकार बन्दुकको गोली र लाठीमा सीमित हुनु हुँदैन । स्टाटसमा मात्रै देखिने होइन । यतिखेर त प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने, प्रदेश र स्थानीय सरकारसँग संवाद गर्नुपर्ने हो । तर खै ?’ उनले भने, ‘यस्तो बेला पनि प्रधानमन्त्री भाउ खाएर, ठालु भएर बस्ने ? यो बेला सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन ? सबैको भएर सबैलाई समेटेर जाने प्रयास गर्नु पर्दैन ? गर्नुपर्छ भन्ने हाम्रो माग पनि छ।’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक संवेदनशीलता र परिस्थितिको गाम्भीर्यता बुझ्न सरकारलाई आग्रह गरे । अध्यक्ष लिङ्देनले तराई–मधेशमा हिन्दु धर्मावलम्बीहरूका चाडपर्व र उत्सवका समयमा शृङ्खलाबद्ध रूपमा हिंसात्मक गतिविधि भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे । ‘तराई–मधेशमा हिन्दुहरूको चाडपर्वमा सधैँ तनाव सिर्जना गर्ने र हिंसा भड्काउने काम भइरहेको छ । राज्यको निरन्तरको उदासीनताका कारण सुनसरीको कप्तानगन्ज जस्ता घटनाहरू दोहोरिएका छन्, जुन अत्यन्तै चिन्ताजनक छ ।’

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  ११:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार