शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

मंगलबार, साउन ५, २०८३

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् ।  सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबिचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो । साथै शिक्षा क्षेत्रमा अमेरिकी सरकार कोतर्फबाट प्राप्त सहयोग र आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सीपमूलक शिक्षाको प्रवद्र्धन तथा खेलकुद क्षेत्रका सम्भावित सहकार्यबारे छलफल भएको थियो । अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै आएको छ । विशेष गरी अमेरिकी सहयोग नियोग (युएसआइडी) मार्फत अर्लिग्रेड रिडिङ र लर्निङ कार्यक्रमका साथै कलेज अफ एजुकेशनमा अमेरिकी सरकारको सहयोग रहँदै आएको छ ।  भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र अमेरिकाबिचको ऐतिहासिक, मैत्रीपूर्ण तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । वर्तमान सरकारले शिक्षा क्षेत्रमा विभिन्न सुधार गरिरहेको स्मरण गराउँदै विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रम प्रारूपको परिमार्जनको काम भइरहेको तथा सैद्धान्तिक भन्दा पनि व्यवहारिक पाठ्यक्रम बनाउन मन्त्रालय अघि बढेको बताए । साथै उनले पाठ्यक्रम प्रारूप परिमार्जनको क्रममा विद्यालय तहदेखि नै खेलकुदलाई पाठ्यक्रममै समावेश गर्ने गरी पाठ्यक्रम प्रारूप परिमार्जनको काम भइरहेको जानकारी समेत दिए ।   मन्त्री पोखरेलले विद्यालयको भौतिक पूर्वाधार मूल्याङ्कनको काम अघि बढाइएको र सोही आधारमा आगामी दिनमा आवश्यकता अनुसार विद्यालयहरूमा बजेट विनियोजन गरिने बताए । साथै, भौतिक पूर्वाधार, शैक्षिक सुविधा तथा शिक्षक तालिमलगायतका क्षेत्रमा मन्त्रालयले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।  मन्त्री पोख्रेलले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षकको पेसागत क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषणलगायतका क्षेत्रमा अमेरिकी सरकारसँग सहकार्य गर्न सकिने उल्लेख गरे ।  राजदूत अर्बमले नेपालको शिक्षा तथा खेलकद क्षेत्रको विकासका लागि द्विपक्षीय समझदारीमार्फत आवश्यक सहयोग गर्न आफ्नो देश सकारात्मक रहेको बताए । उनले नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयले पहलकदमी लिएको विभिन्न सुधारका कार्यक्रमबारे अमेरिकी सरकार जानकारी रहेको भन्दै त्यसमा सहयोग र सहकार्य गर्न अमेरिका सधै तत्पर रहेको बताएका थिए । सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा अमेरिका सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  १९:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार