वर्षाका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध

सोमबार, साउन ४, २०८३

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा पहिरो, लेदो र हिलो खस्दा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले सोमबार बेलुका ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ । प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ । यस्तै, मकवानपुरको कान्ति लोकपथ मा पनि वर्षातका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलामको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडक हिलो भएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, सो क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र गाउँपालिका–२ कोदारी क्षेत्रमा माथिबाट पहिरो तथा लेदोसहित ढुंगा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, बागलुङको कालीगण्डकी करिडोर अन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड उत्तरगया गाउँपालिका–१ गुम्चेत क्षेत्रमा पहिरो झरेपछि पूर्ण रूपमा बन्द भएको छ । रोल्पाको रुकुम–घोराही सहिद मार्ग अन्तर्गत माडी गाउँपालिका–६ हार्निङ क्षेत्रमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस्तै, खोटाङको मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–भोजपुर सडकखण्डको माम्खा क्षेत्रमा पहिरो खस्दा आवागमन पूर्ण रूपमा बन्द भएको छ । त्यसैगरी, ताप्लेजुङको मेची राजमार्ग अन्तर्गत पाथीभरा याङवरक गाउँपालिका–१ खोक्से खोलानजिक पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीले वर्षायाममा पहिरो र बाढीको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  २०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार