सरकारका निर्णयले धेरै ठूलो ड्यामेज गर्‍यो भने रातारात परिवर्तन गर्नुपर्छ : रवि लामिछाने

शनिबार, साउन २, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका निर्णयका कारण ठूलो क्षति भएमा त्यसलाई रातरात निर्णय परिवर्तन गर्न सकिने बताएका छन् । सरकारका निर्णय अकाट्य नहुने उनको भनाइ थियो । सरकारले राम्रो गर्नकै लागि निर्णय गर्ने भए पनि त्यसले क्षति पुगेमा परिवर्तन गरिने उनले बताए ।  ‘सरकारले जसका लागि लाभ होस् भनेर निर्णय गरेको छ, त्यो निर्णयले लाभ होइन हानी भएछ भने त्यसमा निर्णयहरू परिवर्तन हुन्छ। त्यसमा चिन्ता गर्नु पर्दैन । तर अलिकति समय हामीले दिनुपर्छ,’ लामिछानेले भने, ‘कहिलेकाहीँ व्यवहारमा उतार्नका निमित्त केही काम हो, त्यसले धेरै ठूलो ड्यामेज गर्‍यो भने त त्यसलाई रातारात परिवर्तन गर्नुपर्छ ।’
शनिबार रास्वपाका रौतहटका नेता तथा कार्यकर्ताले सरकारका कदमले सीमा क्षेत्रको बासिन्दाको जनजीवन कष्टकर भएको गुनासो गरेका थिए । सरकारले तोकेको सय रुपैयाँको सीमा र अन्य कदमका विषयमा सभापति लामिछानेसँग समाधानका लागि पहल गर्न आग्रह गरेका थिए ।  नेता तथा कार्यकर्ताको गुनासो सुनेपछि सभापति लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को बचाउ गरे । उनले सरकारको नियत गलत नभएको जिकिर गरे । 
‘सरकार निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ । नियत खराब भयो भने कहाँ करेक्सन गर्नेरु नियत करेक्सन गर्न गाह्रो हुन्छ,’ लामिछानेले थपे, ‘निर्णयहरू त राम्रो निर्णय गर्दा दुई(चार वटा निर्णयले विवाद ल्याउन सक्छ। गर्दै जाँदा व्यवहारमा किसानको पक्षमा निर्णय गर्छु भन्दा त्यही निर्णय किसानको विपक्षमा भइदियो भने करेक्सन गर्न सकिन्छ ।’
कहिलेकाहिँ नेतृत्वले एउटा उद्देश्यका साथ निर्णय गरेको भए पनि कार्यान्वयन गर्दा केही चुनौती आउनसक्ने बताए । चुनौति आउँदा खत्तम भयो भन्ने भाष्य सिर्जना हुने गरेको जिकिर गर्दै जनतालाई अप्ठ्यारो पार्ने निर्णय परिवर्तन हुने बताए । 
‘कुनै पनि सरकारले लिएको नीति किसानलाई अप्ठ्यारो पार्ने, मजदूर वर्गलाई अप्ठ्यारो पार्ने, गरिब विपन्न वर्गलाई अप्ठ्यारो पार्ने कालान्तरमा देखिएको खण्डमा त्यस्ता कुनै पनि नीतिहरू परिवर्तन हुन्छन्,’ उनले भने, ‘यो अपरिवर्तनीय कुरा होइन, परिवर्तन हुन सक्छ। थोरै समय मात्र धैर्यता दिनुभएको छ, दिनुहोला ।’

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  १८:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार