बुद्धनगर आत्मदाह प्रयास

भ्रामक समाचारले थप पीडा दियो : अश्विन राउतको परिवार

शनिबार, असार २७, २०८३

काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको वीर अस्पतालमा उपचार भइरहेको छ । शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतलाई परिवार, छिमेकी र स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पुर्‍याइएको थियाे । राउतका भाइ दीपक राउतका अनुसार बिहान करिब ६ बजेतिर घटना भएको थियो । परिवार श्राद्धको तयारीमा रहेका बेला राउतकी श्रीमती नुहाउन गएको समयमा उनले बाहिर गएर स्कुटरबाट पेट्रोल निकाली शरीरमा खन्याएर आगो लगाएको उनले बताए । घटनापछि छिमेकी, होस्टेलमा बस्ने युवाहरू र परिवारका सदस्यको सहयोगमा आगो निभाई राउतलाई तत्काल अस्पताल लगिएको दीपकले जानकारी दिए । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने, ‘बिहान करिब ६ बजे तिर, भाउजु दाइ आफू नुहाई धुवाई गरेर श्राद्धको लागि तयारी गर्दै हुनुहुन्थ्यो । भाउजु नुहाउन पसेको बेलामा दाइले चाहिँ बाहिर गएर स्कुटरबाट पेट्रोल झिकेर अनि त्यहाँबाट आफूलाई खनाएर आगो लगाउनुभएछ । अनि बाहिर ड्याङ्ग डुडुङ्ग भएपछि भाउजु निस्केर हेर्दाखेरि आगो लागिरहेको । छिमेकीको सहयोग, होस्टेलको केटाहरुको सहयोग र दाइहरु मिलेर र प्रहरीलाई खबर गरेर अनि हामीले हस्पिटल लिएर आएका हौं ।’ उनका अनुसार राउतको एक वर्षअघि स्पाइनल कर्डको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि स्वास्थ्यमा सुधार अपेक्षाअनुसार हुन नसक्दा उनी मानसिक तनावमा रहेको परिवारले महसुस गरेको थियो । ‘उपचारलाई थप अघि बढाउने तयारी भइरहेको थियो । तर, त्यसअघि नै उहाँले यस्तो कदम चाल्नुभयो’ दीपकले भने । यसैबीच, घटनालाई पारिवारिक विवादसँग जोडेर केही सञ्चारमाध्यममा आएका समाचारप्रति परिवारले असन्तुष्टि जनाएको छ । दीपक राउतले घटनाको वास्तविकता नबुझी अनुमानका आधारमा समाचार प्रकाशन हुँदा परिवारलाई थप मानसिक पीडा भएको बताए । उनले हरेक घटनाको प्रकृति फरक हुने भएकाले तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् । भाइ दीपकले भने, ‘हामी यतिबेला अत्यन्तै ठूलो मानसिक पीडामा छौँ । यस्तो संवेदनशील घडीमा आधारहीन कुरा लेखेर परिवारलाई थप मानसिक तनाव नदिन र समाचारमा संयमता अपनाउन आग्रह गर्दछौँ ।’ उनले जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याउँदै झुटा र भ्रामक समाचार तत्काल सच्याउनसमेत सम्बन्धित पक्षसँग माग गरेका छन् । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने, ‘यो बीचमा न्यूज, अनलाइन न्यूजहरुले चाहिँ अननेसेसरी (अनावश्यक) नचाहिँदो कुराहरु पारिवारिक झगडा, यो भनेर गर्ने र पहिलाका घटनाहरुलाई पनि लिंक गरेर राजनीतिकरण गर्ने, यो कुराहरुले चाहिँ परिवारलाई अझै दुखी बनाएको छ । यो यस्तो खालको परिपाटीले चाहिँ सबै न्यूज एकैथरी हुँदैन। सबै घटना एकैथरी हुँदैनन् भन्ने कुरा चाहिँ न्यूज च्यानल चलाउने मान्छेहरुले पनि बुझिदिनुपर्‍याे । उहाँहरुले गर्दा  हामीलाई थप समस्या भएको छ । हामीलाई मानसिक तनाव भएको छ ।’ परिवारका अनुसार हाल राउतको उपचार भइरहेको छ र चिकित्सकको निगरानीमा उनको स्वास्थ्य अवस्थाबारे मूल्यांकन भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, असार २७, २०८३  १५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार