एमाले संस्थापन पक्षले 'अनधिकृत' भनेको बैठकमा भीम रावल पनि सहभागी 

बैठकले भन्यो,  'विवाद मिलाउने हो भने अधिवेशन प्रक्रिया तत्काल रोकिनु पर्छ'
बिहीबार, साउन २१, २०७८

काठमाडौं । एमालेको संस्थापन पक्षले अल्पमत समूहको आजको बैठक रोक्न धेरै प्रयास गरेपनि अल्पमत समूहले बैठक सम्पन्न गरेको छ । बैठकमा सदस्यहरुले बोल्ने क्रम नसकिए पछि भोलिका लागि पनि राखिएको छ । बिहीबारको बैठकमा डा. विजय पौडेल, दिनेश राई, प्रतापलाल श्रेष्ठ, झपट रावल, रविन्द्र अधिकारी, रामकुमारी झाँक्री, निरा जैरु, ठाकुर गैरे, भागवत विश्वासी, सुरेन्द्र मानन्धर, भानुभक्त जोशी, अरुण नेपाललगायतका केन्द्रीय सदस्यले आफ्ना सुझाव दिएका थिए ।  बैठकमा ७० जना भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको थिए । बैठकले अधिवेशन प्रक्रिया रोक्न माग गरेको छ ।
आफ्नो समूहका केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता नै आफ्नो इच्छा र चाहना भएको बताएका थिए । 
नेता रघुजी पन्तका अनुसार १० बुँदे सहमति जुटाउने कार्यदलका संयोजक भीम रावलले सदस्यता नवीकरण र वडा तथा नगर कमिटीको अधिवेशन रोक्न ओली पक्षको कार्यदलका सदस्यहरुलाई भनेका छन् । १० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने नेपाल समूहको माग छ ।
नेपालले केही विषयमा सहमति भए पनि केहीमा वार्ता जारी रहेको बताएका थिए । बैठकको अध्यक्षता गरेका नेपालले विश्वासिलो वातावरण नबनेसम्म एकता नहुने बताएका थिए । नेपालले बोलेपछि वार्ता कार्यदलमा माधव नेपाल पक्षका संयोजक भीम रावलले १० बुँदे सहमतिको बारेमा विस्तृत जानकारी केन्द्रीय सदस्यहरूलाई गराएका थिए ।
रावलले १० बुँदे सहमतिले पार्टी एकताको आधार तय गरेको भन्दै यसलाई सामान्यरूपमा नलिन आग्रह गरेका थिए । केपी ओलीलाई जेठ २ मा फर्काउन १० बुँदे गरिएको भन्दै उनले यसमा टेकेर पार्टी एकताबद्ध हुनुपर्ने र विभाजनमा जान नहुने बताएका थिए । उनले जेठ २ को केन्द्रीय कमिटी बैठक बसेपछिमात्र सदस्यता नवीकरणलगायतका कार्य अघि बढाउन आफूले कार्यदलका नेताहरू र महासचिव ईश्वर पोखरेललाई आग्रह गरेको जानकारी दिएका थिए ।

राससका अनुसार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ । 
बैठकले आफ्नो पक्षको आगामी रणनीति तय गर्ने जनाइएको छ । बैठक बस्नु अघि सोही पक्षीय स्थायी कमिटीका सदस्यहरूको बैठक पनि बसेको थियो । काठमाडौँको बुद्धनगरमा ७० भन्दा बढी सदस्य सहभागी बैठकमा अहिले केन्द्रीय सदस्यले पार्टीमा देखिएको समस्या र पार्टी एकताका विषयमा धारणा राखिरहेका बैठकमा सहभागी नेता झपटबहादुर रावलले जानकारी दिए। 
नेपाल समूहले पार्टीभित्रको एकता, अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समयमा गरेका निर्णय र सरकारमा सहभागिताका विषयमा छलफल गर्न बैठक बोलाएको जनाएको छ । उनका अनुसार बैठकको शुरुमा पार्टीका वरिष्ठ नेता नेपालले समसामयिक विषयमा भनाइ राखेका थिए । त्यसपछि उपाध्यक्ष डा.भीम रावलले पार्टी एकताका विषयमा आन्तरिक समस्या समाधानका लागि बनेको कार्यदलले गरेको सहमति र प्रयासबारे जानकारी गराएका थिए । त्यसपछि केन्द्रीय सदस्यबाट भनाइ राख्ने क्रम जारी छ । 
नेता झपटबहादुर रावलले एमालेलाई सुदृढ र सवल कसरी बनाउने भन्ने विषमया नै बैठक केन्द्रित भएको र पार्टी तथा कम्युनिष्ट आन्दोलन कमजोर बनाउनका लागि भइरहेका गतिविधिको कसरी मुकाविला गर्ने भन्ने सम्बन्धमा छलफल केन्द्रित रहेको जानकारी दिए। उनले एमालेको नवौँ महाधिवेशनले पारित गरेको राजनीतिक, साङ्गठनिक प्रतिवेदन र विधान अनुसार नै पार्टी अघि बढाउनुपर्ने आफूहरूको महत्वपूर्ण शर्त रहेको उल्लेख गरे । नेतृत्वले पछिल्लो चरणमा गरेका कमीकमजोरीलाई सुधारेर विधानअनुसार नै पार्टी अघि बढ्ने उनले विश्वास व्यक्त गरे । 
केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीलाई एकताबद्ध बनाउने कुरामा नै बैठक केन्द्रित रहेको तर आत्मसमर्पण गरेर भने एकता नहुने जिकिर गरिन् । यसअघि पार्टीको स्थायी कमिटी बैठकले विधान अधिवेशन, पालिका तथा वडाधिवेशनको मिति तय गरेको थियो । बैठकको निर्णय अनुमोदनका लागि यही साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाइसकेको अवस्थामा नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक बसेको हो । 
 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार