बजेट नवउदारवादी आर्थिक नीतिको निरन्तरता, समाजवादको लक्ष्यभन्दा विपरीत : सांसद तामाङ

बिहीबार, जेठ २८, २०८३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पशुराम तामाङले आगामी आर्थिक वर्षको बजेट नवउदारवादी तथा पुँजीवादी आर्थिक नीतिको निरन्तरता भएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले आर्थिक–राजनीतिक दृष्टिकोणबाट हेर्दा बजेटले २०४८ सालदेखि अवलम्बन गरिएको निजीकरण र उदारीकरणको नीतिलाई नै निरन्तरता दिएको दाबी गरे । उनले भने, ‘अर्थराजनीतिक दृष्टिले हेर्दा यो बजेट २०४८ सालको निजीकरण र उदारीकरणमा आधारित नवउदारवादी पुँजीवादी आर्थिक नीतिको निरन्तरता हो । अहिले त्यसको विस्तार डिजिटल स्वरूपमा गरिएको छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।’ सांसद तामाङले यही आर्थिक नीतिका कारण देशका उद्योगधन्दा कमजोर बन्दै गएको र ठूलो संख्यामा युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भएको आरोप लगाए । उनका अनुसार वर्तमान बजेट पनि पुँजीजीवी वर्ग र मध्यम वर्ग विस्तारको नाममा त्यही नीति अघि बढाउने उद्देश्यका साथ ल्याइएको छ । उनले नेपालको संविधानको प्रस्तावनाले परिकल्पना गरेको समाजवादउन्मुख राज्य व्यवस्थाको लक्ष्यसँग बजेटको दिशा मेल नखाने जिकिर गरे ।  उनले भने,‘यो बाटो संविधानले निर्देशित गरेको समाजवादको गन्तव्यभन्दा फरक छ ।’ सांसद तामाङले उत्पादनमुखी अर्थतन्त्र, स्वदेशी उद्योगको संरक्षण र श्रमजीवी वर्गको हितलाई केन्द्रमा राखेर आर्थिक नीति निर्माण गर्न सरकारलाई आग्रह गरे।

 

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार