भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

आइतबार, जेठ २४, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् । भारत भ्रमणका क्रममा उनले दुई देशबीच आपसी हितका विषयमा सम्बन्धलाई थप मजबुत बनाउन नेपाल प्रतिबद्ध रहेको बताउँदै, अझै समाधान हुन बाँकी रहेका सीमा र सीमांकनका विषयहरू खुला संवाद र स्थापित द्विपक्षीय संयन्त्रमार्फत अघि बढाउनुपर्ने बताएका हुन् । उनले भने, ‘हामी आपसी हितका विषयमा सम्बन्ध निर्माण गर्न चाहन्छौँ । हामीबीच केही मुद्दाहरू छन् भन्ने कुरा म स्वीकार गर्छु । सीमा र सीमांकनसँग सम्बन्धित बाँकी रहेका विषयहरू कूटनीतिक संवादमार्फत समाधान गर्न सकिन्छ र गर्नुपर्छ ।’ खनालले नेपाल र भारतबीच यस्ता विषय समाधानका लागि विभिन्न संयन्त्रहरू पहिल्यैदेखि रहेको उल्लेख गर्दै, प्राविधिक तहको संयुक्त फिल्ड सर्भे टोली अहिले सीमाक्षेत्रमा संयुक्त रूपमा काम गरिरहेको जानकारी दिए । साथै, भारतका विदेशमन्त्रीसँग भएको छलफलमा ती सबै संयन्त्रलाई पुनः सक्रिय बनाउने सहमति भएको पनि उनले बताए । उनका अनुसार, ‘हामीले हिजोको छलफलमा सबै संयन्त्रहरू सक्रिय बनाउने सहमति गरेका छौँ, ताकि खुलापन र संवादका माध्यमबाट विद्यमान समस्याहरू समाधान गर्न सकियोस् ।’ परराष्ट्रमन्त्री खनालको अभिव्यक्तिलाई नेपाल–भारत सम्बन्धलाई आपसी विश्वास, संवाद र सहकार्यका आधारमा नयाँ ढंगले अघि बढाउने नेपालको संकेतका रूपमा हेरिएको छ ।-एएनआई

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  १३:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार