सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन् । शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले साहित्य सिर्जना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरुक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम भएको बताए । राष्ट्रपति पौडेलले भने, ‘साहित्य सिर्जना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरुक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम पनि हो। यसले हाम्रो समाज, जनजीवन, लोकतान्त्रिक मूल्य–मान्यता, रूपान्तरण, परिवर्तन, देशप्रेम र सामाजिक न्यायका लागि उत्प्रेरित गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान दिएको हुन्छ। साथै, साहित्यले समाजलाई जोड्ने, जागरुक बनाउने र उज्यालो भविष्यतर्फ अघि बढाउने सामथ्र्य राख्दछ भन्ने मलाई लाग्दछ ।’ उनले नेपाली भाषा, साहित्य, जनचेतना र राष्ट्रिय भावनाको विकासमा युगकवि सिद्धिचरण श्रेष्ठले पु¥याएको योगदानको स्मरण गर्दै नयाँ पुस्ताले उनलाई इतिहासका कविका रूपमा मात्र नभई चेतना, साहस, सिर्जनशीलता, राष्ट्रप्रेम र मानवीय मूल्यका प्रेरणास्रोतका रूपमा बुझ्न आवश्यक रहेको बताए । राष्ट्रपति पौडेलले भने, ‘आजको नयाँ पुस्ताले युगकवि सिद्धिचरण श्रेष्ठलाई केवल इतिहासका एक कविका रूपमा मात्र होइन, चेतना, साहस, सिर्जनशीलता, राष्ट्रप्रेम र मानवीय मूल्यका प्रेरणास्रोतका रूपमा बुझ्न आवश्यक छ। नेपाली साहित्यको श्रीवृद्धिमा उहाँको योगदान महत्वपूर्ण छ। उहाँ आफ्नो समयको चेतना, समाजको संवेदना र परिवर्तनप्रतिको आकांक्षालाई शब्दमार्फत अभिव्यक्त गर्ने विशिष्ट साहित्यिक व्यक्तित्व हुनुहुन्थ्यो ।’ उनले तत्कालीन कठिन सामाजिक तथा राजनीतिक परिस्थितिमा पनि सिद्धिचरणले साहित्यका माध्यमबाट स्वतन्त्रता, न्याय, मानवता, राष्ट्रिय स्वाभिमान र जनचेतनाको सन्देश प्रवाह गरेको उल्लेख गरे । ‘चेतनापूर्ण साहित्यिक अभिव्यक्ति र निर्भीक विचारका कारण लामो समयसम्मको कष्टकर कारावासको सजाय भोग्दाका बखत पिताको काजक्रियामा सहभागी हुन नपाएको पीडादायी प्रसंगबाट उहाँको जीवनको संघर्ष, त्याग र साहित्यप्रतिको निष्ठा बुझ्न सकिन्छ,’ राष्ट्रपति पौडेलले भने । उनले सिद्धिचरणका कवितामा जन्मभूमिप्रतिको गहिरो प्रेम, राष्ट्रप्रतिको आस्था र नेपाली जनजीवनप्रतिको संवेदनशीलता प्रचुर मात्रामा पाइने उल्लेख गर्दै ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताले जन्मभूमिप्रतिको अगाध प्रेमलाई नेपाली साहित्यमा अविस्मरणीय रूपमा स्थापित गरेको बताए । कार्यक्रममा डा. दुबसु क्षेत्री र डा. गार्गी शर्मालाई युगकवि सिद्धिचरण पुरस्कारबाट पुरस्कृत गरिएको थियो । राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा युगकवि सिद्धिचरण श्रेष्ठको योगदान सदैव स्मरणीय रहने विश्वास व्यक्त गरे।