सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् । नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले रास्वपाको सरकार बनेपछिको यो पहिलो उच्चस्तरीय भ्रमण भएको र यस क्रममा देशको प्राथमिकताका विषयहरूमा केन्द्रित रहेर छलफल हुने बताए । नेपाल र भारतबीच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदानप्रदानको सिलसिला अन्तर्गत यो भ्रमण भएको हो । यस भ्रमणले दुई देशबीचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनालको औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक गरेको थियो । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी डा.जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने छन् । सो अवसरमा दुई देशका विदेशमन्त्रीबीच नेपाल र भारतको आपसी हितका विविध विषयमा गहन छलफल हुने मन्त्रालयले जनाएको छ । विशेष गरी व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्रमा सहकार्य तथा दुई देशका जनताबीचको आपसी सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा केन्द्रित रहेर दुई पक्षबीच वार्ता हुने विज्ञप्तिमा उल्लेख छ । नेपाल र भारतबिचको आपसी सहयोग र समझदारीलाई नयाँ उचाइमा पुर्याउन यो भ्रमण महत्त्वपूर्ण कडी हुने मन्त्रालयको ठहर छ । परराष्ट्रमन्त्री खनाल आफ्ना सबै औपचारिक कार्यक्रमहरू पूरा गरी आउँदो जेठ २४ गते काठमाडौँ फर्कने तालिका रहेको छ ।