सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बहालवाला तथा निवृत्त उपसचिव वा सोभन्दा माथिल्लो तहका कर्मचारीहरूको सम्पत्ति छानबिन प्रक्रिया तीव्र बनेसँगै राष्ट्रिय किताबखाना (निजामती) मा बढेको भीड व्यवस्थापन गर्न सरकारले सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाएको छ । अब कर्मचारीहरूले तलबी विवरण लिन कार्यालयमै उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ । राष्ट्रिय किताबखाना (निजामती) ले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन ‘डिजिटल डकुमेन्ट एक्सेस सर्भिस’ सुरु गरेको जनाएको छ । कार्यालयका महानिर्देशक श्रवण कुमार पोखरेल का अनुसार वेबसाइटमार्फत २०१७ सालदेखि हालसम्मका पद, तलब स्केल तथा ग्रेडसम्बन्धी विस्तृत विवरण ‘तलब र ग्रेड सिट’ शीर्षकमा उपलब्ध गराइएको छ । साथै, आवश्यक गणनाका लागि अनलाइन क्याल्कुलेटरसमेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । किताबखानाले सेवाग्राहीलाई पूर्ण रूपमा ‘फेसलेस’ सेवा प्रणालीमा लैजाने निर्णय गरेसँगै अब विवरण लिन भौतिक रूपमा कार्यालय पुग्नुपर्ने बाध्यता अन्त्य भएको जनाएको छ । सेवाग्राहीले दुई डिजिटल माध्यमबाट आफ्नो तलबी विवरण प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। पहिलो विकल्पअन्तर्गत तोकिएको ह्वाट्सएप नम्बरमा नाम, दर्जा र संकेत नम्बर पठाएर विवरण माग गर्न सकिनेछ। तर सो माध्यमबाट पठाइएको जानकारी २४ घण्टाभित्र स्वतः मेटिने भएकाले आवश्यक परे पुनः अनुरोध गर्नुपर्ने व्यवस्था छ। दोस्रो विकल्पमा ईमेलमार्फत नाम, पद र संकेत नम्बर पठाएर विवरण लिन सकिनेछ। यसलाई तुलनात्मक रूपमा दीर्घकालीन, सुरक्षित र भरपर्दो माध्यमका रूपमा लिइएको विभागले जनाएको छ । कहिलेकाहीँ प्राविधिक कारणले विवरणमा त्रुटि हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित व्यक्तिले वेबसाइटमै उपलब्ध ‘तलब र ग्रेड सिट’ प्रयोग गरी आफैँ गणना गर्न सक्ने सुविधा पनि राखिएको छ । किताबखानाले डिजिटल प्रणालीमार्फत सेवा प्रवाहलाई झन्झटरहित बनाउँदै सेवाग्राहीलाई कार्यालयमा भीड नगर्न र अनलाइन माध्यमको अधिकतम उपयोग गर्न आग्रह गरेको छ ।