नेपाल–भारत सीमा विवाद द्विपक्षीय संयन्त्रबाट समाधान गर्ने भारतको स्पष्टीकरण

‘नेपाल–भारत द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै भूमिका हुँदैन’
मंगलबार, जेठ १९, २०८३

काठमाडौं । भारतको विदेश मन्त्रालयले नेपाल–भारतबीचको सीमा सम्बन्धी विषयलाई दुवै देशबीचको स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ । नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सीमांकन कार्य करिब ९८ प्रतिशत पूरा भइसकेको जानकारी दिँदै बाँकी रहेका प्राविधिक तथा विवादित विषयहरू पनि आपसी संयन्त्रकै माध्यमबाट टुंगो लगाइने बताए । उनका अनुसार गण्डक नदीको धार परिवर्तनका कारण केही स्थानमा सीमांकनसम्बन्धी प्राविधिक जटिलता देखिएको छ । त्यस्तै, पहिले नै सीमांकन भइसकेका केही क्षेत्रमा आवागमन तथा दशगजा क्षेत्रमा देखिएका अतिक्रमणका घटनाबारे दुवै पक्षले संयुक्त रूपमा अध्ययन तथा नक्सांकन गरिरहेको उनले उल्लेख गरे । नेपालका प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयका पछिल्ला अभिव्यक्तिबारे गरिएको प्रश्नमा प्रवक्ता जयसवालले सीमा मामिला पूर्ण रूपमा दुई देशबीचको विषय भएको उल्लेख गर्दै यसमा कुनै तेस्रो पक्षको भूमिका नहुने स्पष्ट पारे । उनले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, राजनीतिक तथा जनस्तरमा समेत गहिरो रहेको उल्लेख गर्दै हाल भइरहेका उच्चस्तरीय भ्रमण र भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाइरहेको धारणा व्यक्त गरे ।

‘नेपाल–भारत द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै भूमिका हुँदैन’
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा समस्याबारे बेलायतसँग पनि कुरा गर्नुपर्ने धारणा सार्वजनि गरेपछि भारतले त्यसमा प्रतिक्रिया दिएको छ । द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा बताएका छन् । पत्रकारहरूले नेपालका प्रधानमन्त्रीले सीमाबारे चीन र बेलायतसँग कुरा गरिरहेको बताएको विषयमा भारतको प्रतिक्रिया मागेका थिए । ‘भारत–नेपाल सीमाको सम्बन्धमा नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको जुन अभिव्यक्ति आएको छ, त्यसलाई हामीले सुनेका छौँ। भारत–नेपाल सीमाको लगभग ९८ प्रतिशत निर्धारित भइसकेको छ। केही हिस्सामा समस्या छ, गण्डक नदीको बहावमा परिवर्तन भएको कारण यो स्थिति उत्पन्न भएको छ,’ प्रवक्ता रणधीर जैसवालले भने ।  उनले थपे, ‘यसका अलावा सीमाको निर्धारित हिस्सामा सीमापार कब्जा र नो म्यान्स ल्यान्डमा अतिक्रमणका मामिला पनि छन्। जसको संयुक्त रुपले सीमांकन गरिँदै छ। सीमा सम्बन्धी सबै मामिला समाधान गर्न दुईपक्षीय संयन्त्र स्थापित गरेका छौँ। सबै पक्षलाई यो स्पष्ट हुन जरुरी छ, भारत र नेपालको बीचमा जेजति द्विपक्षीय मामिला छन्, त्यसमा कुनै पनि तेस्रो पक्षको भूमिका छैन।’  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्चस्तरीय भेटघाट गर्ने पनि उनले बताए ।
 
 

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  १८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार