सोसल मिडिया
Contact Us
युनिकोड
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थालिसकेको छ । साथै यी खोप अमेरिका, क्यानाडा र युरोपेली संघमा आबद्ध मुलुक सहित अन्य कतिपय मुलुकले प्रयोगमा ल्याएका छन् । कोरोनाभाइरस विरुद्ध आपतकालीन प्रयोगका लागि डब्लुएचओबाट खोप स्वीकृत प्राप्त गर्ने फाइजर पहिलो कम्पनी हो । डब्लुएचओका वरिष्ट अधिकृत म्यारिएन्जेला सिमाओले फाइजरको खोपले अनुमति प्राप्त गर्नु निकै सकारात्मक कदम भएको र यसबाट विश्वका अन्य मुलुकले पनि यस खोपमा सहज पहुँच हासिल गर्ने विश्वास व्यक्त गरे । डब्लुएचओका अनुसार युनिसेफ जस्ता मानवीय सहायता निकायहरुले फाइजरका खोप खरिद गरेर अति जरुरी परेका मुलुकमा आपूर्ति गर्न पनि यसले बाटो खोलेको छ । फाइजर–बायोएनटेकले विकास गरेको खोपको सुरक्षा, प्रभावकारिता र गुणस्तर जाँच गर्न डब्लुएचओले विश्वभरबाट तथ्याँक संकलन गरी विश्लेषण गरेको थियो । विज्ञहरुको टोलीले गरेको अध्ययनमा कोभिड–१९ बाट सिर्जना हुने जोखिम न्यून गर्न फाइजरका खोप निकै प्रभावकारी देखिएको डब्लुएचओले जनाएको छ ।
माल्दिभ्सले एस्ट्राजेनेकाको खोप लिने मालदिभ्सले एस्ट्राजेनेका सिंगापुर र अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको कोभिड–१९ विरूद्धको खोप खरीद प्रक्रियाको सम्झौतामा हस्ताक्षर गरेको छ । माल्दिभ्सको अर्थ मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी भनेको छ, ‘अत्यधिक माग रहेको खोप लिनका लागि सार्वजनिक वित्त नियमावलीको प्रावधानलाई निलम्बन गरी खोप खरिद प्रक्रियालाई अघि बढाइनेछ ।’ अर्थमन्त्री इब्राहिम आमिरलाई उद्धृत गरी भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयको वित्त कार्यकारीको परामर्शमा खोपको खर्चलाई आन्तरिक अडिट गर्नेगरी प्रक्रियालाई अघि बढाउने निर्णय भएको छ ।’राष्ट्रपति इब्राहिम सोलिहले यस पहिले नै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने वाचा गरेका थिए । आपतकालिन स्वास्थ्य सेवा सञ्चालन केन्द्र (एचओओसी) ले कोभिड–१९ को खोप सन् २०२१ को पहिलो त्रैमासिकमा दिन थाल्ने गरी काम हुने बताएको छ । माल्दिभ्स विकासोन्मुख देशहरुलाई खोप प्रदान गर्न विश्व स्वास्थ्य संगठन को कोभ्याक्स कार्यक्रम को एक आवेदक पनि हो ।– एएफपी