सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं ।
नेपालमा गणतन्त्र स्थापना भएको दुई दशकको अवधीलाई कसरी हेर्नुभएको छ ? सर्वप्रथम त जनताको शासन ल्याउनुपर्छ भनेर संघर्ष गरेका गणतन्त्रका प्रणेताहरुलाई श्रद्धाञ्जली अपर्ण गर्न चाहन्छु । जहानीय व्यवस्थाको अन्त्य भएको दुई दशक पुगेको छ । त्यसअघि जनताले आफ्ना अधिकार अभिव्यक्ति गर्ने अवसर पनि प्राप्त गर्न पाउने अवस्था थिएन । गणतन्त्रपछि नागरिकले धेरै अपेक्षा गरेका थिए । त्यसको ६० प्रतिशत मात्रै काम अहिले पूरा भएको जस्तो लागेको छ । अहिलेपनि राजतन्त्रका अवशेष कहीं कतै देख्न पाइने गरेको छ । गणतन्त्रपछि केही व्यक्तिहरुमा ‘नयाँ राजा’ हुने प्रवृत्ति देखियो । राजनीतिक अधिकारलाई प्रयोगमा लैजाने सन्दर्भमा केही ऐजेरु पलाएका छन् । ती ऐजेरुले गणतन्त्रको रस चुसिरहेका छन् । गणतन्त्र प्राप्तिका लागि लडेका, त्याग र तपस्या गरेका मानिस शासन व्यवस्था र राज्यको सेवा सुविधा प्राप्तिका पहिलो हिस्सेदार हुनुपर्ने हो तर अहिलेसम्म त्यसो भएको छैन । गणतन्त्र कसरी आयो भन्ने कुराको जानकारी समेत नभएको र कसले कति बलिदानी गरे भन्ने कुराको हेक्का राखिएको छैन् । गणतन्त्र कसरी ल्याइएको हो भनेर बुझ्ने चाहना नै छैन । ती व्यक्तिहरु जनतालाई भ्रममा पारेर सत्तामा आएका छन् । जनताका ६० प्रतिशत अधिकार प्राप्ति भएपनि ४० प्रतिशत आकांक्षा पूरा हुन नसकेको अवस्थामा ती चाहाना पूरा गर्ने आश्वासन देखाएर अहिले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) जनमत प्राप्त गरेको छ र सरकार पनि बनाएको छ । तर विडम्बना भन्नुपर्छ, हिजो राजाले प्रधानमन्त्रीलाई आफ्नो प्रतिनिधि बनाएर संसदमा नीति तथा कार्यक्रम पढ्न लगाउने गर्दथे । अहिलेको सरकारले पनि त्यही झल्को देखाएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रमको नैतिक जिम्मेवारी देशको कार्यकारी प्रमुखले लिनुपर्ने हुन्छ । तर जनताले उठाएका प्रश्नको उत्तर दिने आँट पनि वर्तमान प्रधानमन्त्रीले गर्न सक्नु भएको छैन् । सरकारमा नैतिक जिमेवारी देखिएन । देशको सर्बोच्च निकाय राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहदा प्रधानमन्त्री आफ्नो गरिमा र मर्यादा विर्सन्छ । यो राष्ट्रकै वेइज्जती हो र गणतन्त्रको उपहास हो । हिजो दलहरुले जनताका प्रश्नको जवाफ प्रधानमन्त्रीले संसदबाटै दिने व्यवस्था थियो तर आज फरक दृश्य देखिएको छ । यो गणतन्त्रको मर्म विपरित छ । प्रधानमन्त्री आगामी दिनमा गम्भीर बन्न जरुरी छ । दलसँग संवाद गर्नुपर्छ । यसले मात्रै गणतन्त्र बलियो हुनसक्छ । त्यसले मात्रै संविधान संशोधनको माहोल बनाउनसक्छ जस्तो मलाई लाग्छ । पछिल्लो समय धेरैले गणतन्त्र फाल्नुपर्छ भन्ने गरेका छन् । उनीहरुलाई इतिहास पढ्न अनुरोध गर्दछु । गणतन्त्र कसैको रहरले आएको होइन, जनताको त्यागले आएको व्यवस्था हो । यसको संरक्षण गर्नु पर्दछ ।
गणतन्त्र ल्याउन लडेकाहरु पनि सत्तामा छन् । उनीहरु नागरिकप्रति कत्तिको उत्तरदायी छन् जस्तो लाग्छ ? गणतन्त्रका लागि आन्दोलन गर्दैगर्दा म घाइते भएको हुँ । सात दिनपछि भारतको एक अस्पतालमा मेरो होस आएको हो । बाँचेपछि गणतन्त्रात्मक व्यवस्था हेर्नपाउँदा म निकै खुशी छु । दलहरुले केही गरेनन् भन्ने पनि होइन, आठ राजनीतिक दलको योगदानका कारण अहिलेको सत्ताधारी पार्टी रास्वपा आउन सकेको हो । राजतन्त्रमा भए त्यो सम्भव थिएन । गणतन्त्रको सुन्दर पक्ष पनि यही हो र एउटा उपलब्धी पनि हो । त्यसोभए, यतिबेला नागरिकमा किन दलहरुप्रति वितृष्णा बढेको होला ? गणतन्त्रपछि ६० प्रतिशत राजनीतिक उपलब्धि भएपनि ४० प्रतिशत काम हुन बाँकी थियो । त्यो ४० प्रतिशत काम पूरा गर्ने भनेर अहिलेको सरकार आएको हो । गणतन्त्रका मालिक जनता हुन् । गण्तन्त्र ल्याउन योगदान गरेका दलले मात्रै शासन गर्नुपर्छ भन्ने पनि होइन तर नयाँले नागरिकका आकांक्षा पूरा गर्नुपर्छ । तर अहिलेको सरकार पनि नागरिकका आंकाक्षाप्रति गम्भिर बनेको छ, जस्तो लागेको छैन् । गर्भमा बालक बोकेकी आमाले मात्रै बालकलाई धेरै माया गर्न सक्छन् भन्ने मलाई लाग्छ । ‘तर नानी कस्तो नाचौली, खुट्टी हेरी थाहा पाए’ भने जस्तै सरकारले सुरुमै कस्तो उद्देश्य बोकेको छ भन्ने प्रस्ट देखाएको छ । कानुन सबैभन्दा बढी सरकारले मान्नु पर्ने हो तर सरकारबाटै कानुनको उपहास भइरहेको छ । सुकम्वासीको उचित व्यवस्थापन नै नगरी डोजर चलाइएको छ । यस्तो कुरा गणतन्त्रमा मान्य हुन सक्दैन । पूराना दलले गर्न नसकेको काम यो सरकारले गर्नुपर्छ । भ्रष्ट्राचारीलाई छानीछानी कारवाही गर्नसक्नुपर्छ । तर विधिको उपहास गर्न पाइँदैन । आफैं सर्वेसर्वा भन्ने हुकुमी शासनको अन्त्य हुनुपर्छ । सरकारको दायित्व गणतन्त्रको रक्षा गर्नु हो । गणतन्त्र प्राप्तिका लागि ज्यान गुमाएका योद्धा, घाइते परिवारको व्यवस्थापनमा सरकारले ध्यान दिनु पर्दछ । हिजोका दलले केही नगरेको भन्ने होइन तर जति हुनु पर्दथ्यो त्यति भएन । पुराना दलले काम नगरेपछि जनताले रास्वपालाई ल्याएका हुन् । पूराना दलले तयार पारेको खेतमा धान फलाउने जिम्मा रास्वपाले लिनुपर्छ । तर यो व्यवस्थाका विरुद्धमा कोही भियो भने त्यसको रक्षागर्न जस्तोसुकै बलिदानी दिन हामी सधैं तयार हुनेछौं । ज्यानको माया मारेर ल्याएको व्यवस्थामा धावा बोल्ने छुट कसैलाई छैन ।
तपाईंलाई गणतान्त्रिक व्यवस्था कमजोर भएजस्तो अनुभव भइरहेको छैन् ? गणतन्त्र अहिले पनि बलियो छ । कसैले चाहेर पनि यो व्यवस्थाबाट बाहिर जाने आँट गर्न सक्दैन । तर खतरा नै नभएको भने होइन । आन्तरिक र बाह्य शक्तिले यो व्यवस्थामा नजर गाढेका छन् । जनताले शासन व्यवस्था फेर्न होइन पुराना दलले गर्न नसकेको काम गर भनेर रास्वपालाई मत दिएका हुन् । नयाँ भनाउँदाको पनि आर्थक पारदर्शिता राम्रो देखिएको छैन । जनतालाई अहिले मल चाहिएको त्यतातर्फ सरकारको ध्यान जान कसेको छैन । अहिलेको सरकारलाई पूरानाले गरेनन् हामीपनि गर्दैनौं भन्ने छुट पनि छैन । उत्पिडित नागरिकको पक्षमा काम गर्नु पर्छ । हिजो बोलेका वाचा पूरा गर्नु सरकारको प्रमुख दायित्व हो । गणतन्त्रको २० बर्षमा प्राप्त भएका उपलधिको रक्षा गर्दै नयाँ प्रगतिको मार्ग सरकारले देखाउनुपर्छ । सरकारलाई पूराना दलले गरेका काम देखाएर उम्कने छुट पनि छैन । त्यसो गरे देशलाइ नै धोका हुनेछ । तर देशका पूर्वप्रधानमन्त्री, मन्त्रीलाई जबरजस्ती पक्राउ गर्ने, धरपकड गर्ने जस्ता काम गर्नु सान्दर्भिक लाग्दैन् । गल्ती गरेका सवैलाई कारवाही गर्नुपर्छ तर विधिको पूर्ण पालाना हुनु जरुरी छ । तर मनमानी गरेको खण्डमा जनताले हिजोभन्दा ठुलो आन्दोलन गर्न सक्नेछन् । आज गरिबका छोराछोरीले पढ्ने वतावरण पाएका छैनन् । सरकारले शिक्षा, स्वास्थ्यको दायित्व लिनुपर्छ । अनि मात्रै गणतन्त्रको परिकल्पना पूरा हुनेछ । हिजो गणतन्त्र ल्याउँदा पाएको पीडा गणतन्त्र र संविधान प्राप्ती हुँदा भुलेका छौं । यो व्यवस्थालाई टिकाउन सवै लाग्नुपर्दछ । गणतन्त्र दिवसको शुभ कामना ।
गणतन्त्र दिवसको अवसरमा गणतन्त्रका घाइते लक्षिराम आचार्यसँग नेपाल न्यूज बैंकले गरेको कुराकानी