सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (ईयू) ले कायम राखेको उडान सुरक्षा सूची (कालोसूची) बाट हटाउने प्रक्रियामा सहजीकरण गर्न ईयू सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित ईयू सदस्य राष्ट्रका राजदूतहरूको संयुक्त प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा मन्त्री खनालले नेपालको नागरिक उड्डयन सुरक्षामा पछिल्ला वर्षहरूमा भएको सुधार र प्रगति ध्यानमा राखेर उक्त सूची पुनरावलोकन गर्नुपर्ने धारणा राखेका हुन् । भेटमा मन्त्री खनालले नेपाल र ईयूबीचको विकास साझेदारीलाई सकारात्मक रूपमा मूल्यांकन गर्दै व्यापार, जलवायु परिवर्तन, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले सरकारको प्रमुख प्राथमिकताका रूपमा तीव्र आर्थिक वृद्धि, प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति रहेको जानकारीसमेत प्रतिनिधिमण्डललाई गराए । साथै, लगानी प्रवर्द्धन, निर्यात प्रतिस्पर्धा सुधार र नवप्रवर्तनलाई प्राथमिकतामा राखेर अघि बढाइएका आर्थिक सुधारका प्रयासबारे जानकारी दिँदै उनले जलविद्युत्, पर्यटन, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा थप लगानी विस्तार गर्न ईयू मुलुकहरूलाई आह्वान गरे । उक्त अवसरमा नेपालका लागि ईयूकी राजदूत भेरोनिक लोरेन्जोले नयाँ सरकारप्रति युरोपेली संघ सदस्य राष्ट्रहरूको समर्थन पुनः पुष्टि गर्ने उद्देश्यले यो भ्रमण गरिएको बताइन्। उनले ई(गभर्नेन्स र डिजिटलाइजेसनलगायत क्षेत्रमा अनुभव आदानप्रदान गर्दै नेपाल(ईयू सहकार्यका नयाँ सम्भावना पहिचान गर्ने लक्ष्य रहेको पनि स्पष्ट पारिन् ।