सोसल मिडिया
Contact Us
युनिकोड
बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिका-३ लाम्पाटा क्षेत्रमा भएको अमानवीय व्यवहारको सत्य,तथ्य छानबिन गरी घटना संलग्न अराजक समूहलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । उक्त क्षेत्रको भएको विवादपछि नेपाल भोटे जनजाति सेवा संघ केन्द्रीय कार्यालय बाजुराले शनिबार जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरिएको हो । हुम्ला जिल्ला खार्पूनाथ गाउँपालिका २ थाली गाउँका करिब तीन सय स्थानीयहरू संलग्न भई लाम्पाटा क्षेत्रमा अराजक तवरले गरिएको अमानवीय व्यवहारको घोर निन्दा गरिएको छ । हुम्ली जनताले पु¥याएको क्षतिको निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने भोट जनजाति सेवा संघको माग छ । घटनामा बाजुरा जिल्ला हिमाली गाउँपालिका ३ लाम्पाटा बस्ने वडा सदस्य पेमा गारा गुरुङसहित लक्ष्मी गुरुङ, मिन कुँवर र नरबहादुर गुरुङ प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा माथि आक्रमण भई घाइते भएका थिए । ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौ’ अभियानमा मेयर गोपाल हमाल लगायतको टिम रानिसैन जाने क्रममास् अघिल्लो दिनमै विवाद उत्पन्न भई सो टिमलाई गन्तव्य जानबाट रोक लगाइएको थियो । नेपाल भोटे जनजाति सेवा संघले घटनाको विरोधमा नारा जुलुस सहित कानुनी प्रक्रियाका साथ दोषीलाई तत्काल कारबाही ज्ञापन पत्रमार्फत आग्रह गरेको हो । सदरमुकाम मार्तडी बजार परिक्रमा गरेर सिडिओलाई ज्ञापन पत्र बुझाई लोकतान्त्रिक चोकमा कोणसभाको आयोजना गरेको थियो । रानिखर्क बाजुराको हो, तस्करी हुम्लीलाई पक्राउ गर भन्दै उनीहरूले विरोध गरेका थिए । हुम्लाका राजनीतिक दलहरूले मानवीय संवेदना समेत नराखी जारी गरेको प्रेस विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण गरेको छ । जेठ ३ देखि ५ गतेसम्म लाम्पाटामा हुम्ली जनताले गरेको कूर घटनाको घोर निन्दा गर्दै अराजक समूहले साङ्घातिक आक्रमण गरी स्थानीयलाई घाइते बनाएको भन्दै भोटे जनजाति सेवा संघले आपत्ति जनाएको हो । नेपाल भोटे जनजाति सेवा संघले कुनै सीमा विवाद नभई प्रहरी चौकी स्थापना पछि तस्करहरूलाई त्यहाँको बहुमूल्य जडीबुटी चोरी सिकारीमा अवरोध हुने भन्दै साङ्घातिक आक्रमण भएको ठहर गरेको छ । रानी सैन क्षेत्रको लाम्पाटा, च्याचौरमा २०१४ सालदेखि बाजुराका भोटे जातिले तिरो समेत तिरेर आफ्नो थातथलोको रूपमा स्थापित गरेको भन्दै यो कुनै पनि प्रकारको सीमा विवाद नरहेको भोट जनजाति सेवा संघले स्पष्ट पारेको छ । ‘यो कुनै सीमा विवाद होईन्, तस्करहरूको अखडमा बाधा, अड्चन आउने भन्दै गरिएको अमानवीय व्यवहार र आक्रमण हो ।’ घटनामा घाइते हिमाली ३ लाम्पाटा बस्ने पेमा गारा गुरुङ र मीन कुँवरलाई बन्धक बनाई यातना दिई कागजमा जबरजस्ती सहीछाप गर्न लगाउने थला सामुदायिक वनका अध्यक्ष देवराज रावल, सचिव किशोर रावल, वडा सदस्य चन्द्रबहादुर रावल लगायतलाई तत्काल नियन्त्रणमा लिई कारबाहीको माग गरिएको छ । घटनामा बिच्छ्या देखि रानी सैन सम्मको बाटोमा रहेका काठे पुल भत्काएर आवतजावतमा समस्या उत्पन्न भएकोले तत्काल समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिन समेत माग गरिएको नेपाल भोटे जनजाति सेवा संघका अध्यक्ष जनक भण्डारीले बताए । ‘घटनामा संलग्न दोषीलाई तत्काल कारबाही हुनुपर्छ।शान्ति,सुरक्षाको लागी उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी नागरिकको जिउधनको सुरक्षा हुनुपर्छ,’ उनले भने । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले उक्त घटनाले सबैलाई दुखित तुल्याएको बताउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आवश्यक प्रक्रिया अघि बढाइने बताए । ‘हुम्ली जनताले गरेको अमानवीय र क्रूर व्यवहार निकै निन्दनीय छ।घटनाको सत्य,तथ्य छानबिनको लागी केन्द्रमा समेत उच्च स्तरीय छानबिन समिति बन्ने छ ।’ विगत लामो समय बाजुरा जिल्ला हिमाली गाउँपालिका–३ लाम्पाटा र चियाचौर ठाउँ बाजुराको सिमाना भित्र पर्ने क्षेत्रलाई हुम्ली बासीहरूले आफ्नो जिल्लामा पर्छ भनेर दाबी गर्दै आएका छन् । रानी सैन, च्याचौर र लाम्पाटा क्षेत्र नापी,लालपुर्जा तथा प्रशासनिक अभिलेख अनुसार बाजुरा जिल्ला अन्तर्गत पर्ने भूमि हो ।